हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ सडक असार २५ सम्म बन्द

यसअघि इन्द्रसरोवर गाउँपालिका–२ र ४ मा पर्ने महालक्ष्मी खोलामा पुल निर्माण र उकालोमा ढलान गर्नका लागि गत जेठ १५ देखि असार १५ सम्मका लागि यो सडक पूर्णरुपमा बन्द गरिएको थियो ।

असार १६, २०८३

प्रताप विष्ट

Hetauda-Kulekhani-Phakhel-Pharping road closed until Asad 10

What you should know

हेटौंडा — हेटौंडा–काठमाडौं जोड्ने छोटोदुरीको हेटौंडा–कुलेखानी–फाखेल–काठमाडौं सडक आगामी असार २५ सम्म बन्द हुने भएको छ ।

बागमती प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको यो सडक खण्ड आगामी असार २५ सम्म पूर्णरुपमा बन्द रहने भएको हो । यसअघि जेठ १५ देखि असार १५ सम्म उक्त सडक बन्द गर्ने सूचना जारी गरिएको थियो । निर्माणको काम नसकिएकाले १० दिन समय लम्बिएको सडक पूर्वाधार कार्यालय हेटौंडाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारी बताए । 

पूर्वाधार विकास कार्यालय हेटौंडाले एक सूचना जारी गर्दै सडक ढलान गरिएको स्थानमा कंक्रिट सेट हुन समय लाग्ने भएकाले सडक बन्द गर्ने अवधि थप गरिएको जनाएको छ । यसअघि इन्द्रसरोवर गाउँपालिका–२ र ४ मा पर्ने महालक्ष्मी खोलामा पुल निर्माण र उकालो सडक ढलान गर्नका लागि गत जेठ १५ देखि असार १५ सम्मका लागि सडक पूर्णरुपमा बन्द गरिएको थियो । पुल निर्माण र ढलानको कार्य सम्पन्न भइसके पनि प्राविधिक कारणले सवारी साधन सञ्चालन गर्न अझै केही दिन कुर्नुपर्ने कार्यालयले जनाएको छ ।

पूर्वाधार कार्यालय हेटौंडाका अनुसार सडक खण्ड साँघुरो भएको र ढलान गरिएको भागमा पूर्णरुपमा सवारी सञ्चालन गर्न अझै परिपक्व नभएकाले असार २५ सम्म सवारी आवागमनमा रोक लगाइएको हो । सडक बन्द रहेको अवधिभर सवारी साधनलाई वैकल्पिक मार्गको रूपमा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गरी दुईतर्फी आवागमन मिलाउन पूर्वाधार विकास कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर र काठमाडौंलाई समन्वयका लागि अनुरोध समेत गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ भित्रै काम सम्पन्न गर्नुपर्ने दबाब र सडकमा सवारी साधनको अत्यधिक चापका कारण निर्माण कार्यमा अवरोध पुग्ने तथा जामका कारण यात्रुले सास्ती भोग्नुपर्ने देखिएकाले सडक बन्द गरिएको हो । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully