भैंसी पालेरै वर्षको ४० लाख कमाउँछन् टंकप्रसाद

भैंसीपालन र प्राङ्गारिक मल उत्पादनमा दुई करोड लगानी गरेर टंकप्रसाद ढुंगेलले मकवानपुरगढीमा वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।

असार १६, २०८३

प्रताप विष्ट

Tanka Prasad earns Rs. 4 million a year by raising buffaloes

What you should know

हेटौंडा — कृषि र पशुपालनलाई जीविकोपार्जनको माध्यम नभई सम्मानजनक व्यवसायका रूपमा स्थापित गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मकवानपुरगढी गाउँपालिका–३ मक्राञ्चुलीका टंकप्रसाद ढुंगेल। भैंसीपालनसँगै प्राङ्गारिक मल उत्पादनलाई जोडेर उनले गाउँमै सफल उद्यम खडा गरेका छन्।

२०७६ सालमा स्थापना गरेको हजुरको बहुउद्देश्यीय पशु तथा कृषि फार्म अहिले मकवानपुरगढीकै नमुना भैंसीपालन फार्मका रूपमा परिचित छ। करिब दुई करोड रुपैयाँ लगानी रहेको फार्ममा हाल साना–ठूला गरी ३५ वटा भैंसी छन्। तीमध्ये १७ वटा दुहुना भैंसीबाट दैनिक करिब १५० लिटर दूध उत्पादन भइरहेको छ।

उत्पादन भएको दूध गाउँका पसल, खुवा उद्योग तथा मनकामना दुग्ध उत्पादन सहकारीमार्फत बिक्री हुन्छ। उनले प्रतिलिटर ११० रुपैयाँका दरले दूध बिक्री गर्दै आएका छन्। उत्पादनदेखि बजारीकरणसम्मको अधिकांश जिम्मेवारी उनी स्वयंले सम्हाल्ने गरेका छन्।

गाउँघरका अधिकांश किसान गाईपालनतर्फ आकर्षित भइरहेका बेला ढुंगेलले भने भैंसीपालन रोजे। उनको अनुभवमा गाईभन्दा भैंसीपालन तुलनात्मक रूपमा सहज र बढी लाभदायी छ। व्यवसायमा श्रीमती र एक छोराले पनि पूर्ण साथ दिएका छन्। बिहानदेखि साँझसम्म परिवारका सदस्य गोठको स्याहार, दूध दुहुने र बजारसम्म पुर्‍याउने काममा व्यस्त हुन्छन्। 'परिवारको साथ र निरन्तर मेहनतले नै यो स्थानमा पुग्न सकेका हौं,' ढुंगेलले भने।

उनले अहिले भैंसीको मलमूत्रलाई उपयोग गर्दै उनले प्राङ्गारिक मल उत्पादन उद्योग पनि सञ्चालन गरेका छन्।करिब २० लाख रुपैयाँ लगानीमा स्थापना गरिएको उद्योगका लागि कृषि ज्ञान केन्द्रबाट मेसिन खरिदमा ६ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो। बाँकी रकम उनले आफ्नै लगानीबाट जुटाएका हुन्।

उद्योगबाट उत्पादन हुने प्राङ्गारिक मल अहिले मकवानपुरगढीसहित आसपासका क्षेत्रमा बिक्री हुन थालेको छ। उनी प्रति बोरा ५०० रुपैयाँमा मल बिक्री गर्छन् भने हेटौंडाको सानोपोखरास्थित पसलबाट प्रतिकिलो २० रुपैयाँमा खुद्रा बिक्रीसमेत भइरहेको छ। दूध र प्राङ्गारिक मल गरी फार्मबाट वार्षिक ६० लाख रुपैयाँभन्दा बढी कारोबार हुने गरेको छ। सबै खर्च कटाएर वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने ढुंगेल बताउँछन्।
'मासिक साढे तीन लाख रुपैयाँ हाराहारी बचत हुन्छ,' उनले भने।

व्यवसाय विस्तारमा सबैभन्दा ठूलो समस्या भने विद्युत् आपूर्ति रहेको उनको गुनासो छ। उद्योगसम्म पुग्ने लाइनमा पर्याप्त भोल्टेज नहुँदा मेसिन नियमित सञ्चालन गर्न नसकिएको उनी बताउँछन्। 'करिब १३० मिटर टाढाबाट कालो तार तानेर मिटर राख्नुपरेको छ,' उनले भने, 'यदि चारवटा विद्युत् पोल थपिएर नजिकैबाट लाइन विस्तार गरिदिए उद्योग सञ्चालन निकै सहज हुन्थ्यो।' पर्याप्त विद्युत् उपलब्ध भए डीएपी कम्पोस्ट मल उत्पादनसमेत सुरु गर्ने योजना रहेको उनले सुनाए।

ढुंगेलका अनुसार किसानले अझै पनि प्राङ्गारिक मलको महत्व पर्याप्त रूपमा बुझ्न सकेका छैनन्। रासायनिक मलको तुलनामा प्राङ्गारिक मलले माटोको उर्वराशक्ति बढाउने, माटोलाई खुकुलो बनाउने र एकपटक प्रयोग गर्दा दुई बालीसम्म प्रभाव रहने भएकाले यसको प्रयोग बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

विशेषगरी मकवानपुरगढी क्षेत्रमा विस्तार भइरहेको ड्रागन फल खेतीका लागि प्राङ्गारिक मल निकै उपयोगी हुने उनको दाबी छ। त्यसैले किसानलाई यसको प्रभावबारे जानकारी गराउन इच्छुक कृषकलाई एक बोरासम्म मल निःशुल्क उपलब्ध गराउने गरेका छन्।

व्यवसायलाई अझ व्यवस्थित बनाउन स्थानीय सरकारको सहयोग आवश्यक रहेको उनी बताउँछन्। फार्मसम्म पुग्ने सडक स्तरोन्नति, उद्योग क्षेत्रमा स्ल्याब ढलान तथा विद्युत् पूर्वाधार सुधार भए उत्पादन र बजारीकरण दुवै सहज हुने उनको विश्वास छ। 'समस्या धेरै छन्, तर गाउँमै बसेर पनि राम्रो गर्न सकिन्छ भन्ने विश्वासले अघि बढेको छु,' ढुंगेलले भने, 'मेहनत गर्न तयार हुनेका लागि कृषि र पशुपालनमा अझै धेरै सम्भावना छ।'  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully