भुक्तानी समयमै हुन थालेपछि मनहरीमा बढ्यो दुधको उत्पादन

मनहरी गाउँपालिकाका नौ वटै वडाका ६ दुग्ध सहकारीमा १ हजार ४ सय भन्दा बढी दुग्ध उत्पादक किसान आबद्ध छन् ।

असार १४, २०८३

प्रताप विष्ट

Milk production in Manahari increased as payments started being made on time

हेटौंडा — बजारसँगसँगै भुक्तानीको पनि ग्यारेन्टी भएपछि मकवानपुरको मनहरी गाउँपालिकाका दुग्ध उत्पादक किसान ढुक्क भएका छन् । दुध विक्री गरेको रकम समयमा नै नपाएपछि निराश यहाँका किसानको रकम भुक्तानीको जिम्मा मनहरी गाउँपालिकाले नै लिएपछि पशुपालनमा उत्साह देखिएको हो ।

पालिकाले गत कात्तिकदेखि किसानले उत्पादन गरेको दूधको बिक्री तथा भुक्तानीको जिम्मेवारी लिन थालेको हो । भुक्तानी नियमित हुन थालेपछि पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएको पालिकाले जनाएको छ । 
मनहरीभित्र चालु आर्थिक वर्षको ११ महिना (असार–जेठ) मा ४० लाख ४४ हजार ४ सय ९६ लिटर दूध बिक्रीबाट करिब २९ करोड रुपैयाँ आम्दानी गरिएको पालिकाको तथ्यांक छ । यसअघि जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरमार्फत दूध बिक्री हुँदै आएको थियो । जिल्ला संघबाट भुक्तानी ढिलो हुने गरेकाले मनहरी गाउँपालिकाले हेटौडा–१९ स्थित नेवारपानीमा हेटौंडा डेरी इण्डस्ट्रिजसँग सम्झौता गरी किसानको दूध बिक्री तथा भुक्तानीको व्यवस्था मिलाएको हो ।

गाउँपालिकाको कृषि शाखाको तथ्यांक अनुसार गत साउनमा ३ लाख ४२ हजार ६ सय ६ लिटर, भदौमा ३ लाख ३२ हजार १ सय ६३ लिटर, असोजमा ३ लाख ३६ हजार १ सय ८९ लिटर, कात्तिकमा ३ लाख ३४ हजार ४ सय ९५ लिटर, मङ्सिरमा ३ लाख ५१ हजार ३ सय लिटर दुध विक्री गरेका थिए । यसैगरी, पुसमा ३ लाख ८८ हजार ८ सय २४ लिटर, माघमा ३ लाख ६९ हजार ८ सय २९ लिटर, फागुनमा ४ लाख १ हजार ७ सय ४९ लिटर, चैतमा ३ लाख ८९ हजार ३ सय ३० लिटर, वैशाखमा ३ लाख ९२ हजार ३ सय ३० लिटर र जेठमा ४ लाख ५ हजार ६ सय ८९ लिटर दूध बिक्री गरिएको थियो ।

गाउँपालिकाका नौ वटै वडाबाट ६ वटा दुग्ध सहकारीमार्फत दूध संकलन हुँदै आएको छ । ती सहकारीमा १ हजार ४ सय भन्दा बढी दुग्ध उत्पादक किसान आबद्ध छन् । आव २०८०/८१ मा वार्षिक २१ लाख ६५ हजार ६ सय ७ लिटर दूध उत्पादन भएकोमा गाउँपालिकाले भुक्तानीको सुनिश्चितता गरेपछि दैनिक दूध संकलन ४ हजार ६ सय लिटरबाट बढेर करिब १४ हजार लिटर पुगेको  हो ।

किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमै हुने व्यवस्था भएपछि दूध उत्पादन र पशुपालन दुवैमा उल्लेखनीय वृद्धि भएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए । समयमै भुक्तानी हुने व्यवस्थाले किसानको पशुपालन व्यवसायतर्फ विश्वास बढेको उनको दाबी छ ।

गाउँपालिकाको पशुपंछी विकास  शाखाका  अधिकृत प्रदीप बर्तौलाले गाउँपालिकाले उत्पादनका आधारमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिंदै आएको छ । चालु आवमा दूध उत्पादन अनुदानबापत ९५ लाख रुपैयाँ वितरण गरिसकेको छ । आगामी आवमा पनि गापाले दुधको उत्पादनको आधारमा अनुदानका लागि वजेट व्यवस्था गरेको छ ।

शाखा अधिकृत बर्तौलाका अनुसार संघीय सरकारको ८० प्रतिशत र किसानको २० प्रतिशत लगानीमा पशु बीमा कार्यक्रमसमेत सञ्चालन गरिएको छ । यसैगरी, मकवानपुरको वाग्मती गाउँपालिकाले पनि आगामी वर्षदेखी दुग्ध किसानलाई प्रोत्साहित गर्नका लागि दुधको उत्पादनमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully