मादक पदार्थ सेवन गरेर आएका छोराको कुटपिटबाट टाउको र अनुहारमा गम्भीर चोट लागेकी आमाको उपचारका क्रममा निधन भएको हो ।
भक्तपुर — भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित बाचामारीमा गएराती आफ्नै छोराले गरेको कुटपिटबाट आमाको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक–९ बस्ने वर्ष २४ का किरण चौधरीले ४० वर्षीया आमा मेधिया चौधरीको कुटपिट गरी हत्या गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक सुर्यबहादुर खड्काले जानकारी दिए ।
मादक पदार्थ सेवन गरेर आएका किरणले शुक्रबार राती पौने ८ बजे आमालाई कुटपिट गरेका थिए। कुटपिट पश्चात टाउको र अनुहारमा गम्भीर चोट लागेर घाइते भएकी मेधियाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। थप उपचारका लागि सूर्यविनायक नगर अस्पतालबाट वीर अस्पताल लगिएकी उनको त्यहाँ उपचार सम्भव नभएपछि पाटन अस्पताल लगिएको प्रहरीको भनाई छ ।
मेधियाको राती १ बजे पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक खड्काले जनाए । घटना पश्चात् प्रहरीले छोरा किरणलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। उदयपुरबाट आएका चौधरी परिवार भक्तपुरमा ज्याला मजदुरी गर्ने गर्थे ।
