मकवानपुरगढी–३ का मधुसुदन दाहालले २०७६ सालमा ९ गाईबाट सुरु गरेको व्यवसायले अहिले ४९ गाई र वार्षिक ३५ लाखभन्दा बढी आम्दानी पुर्याएको छ।
What you should know
हेटौंडा — गाउँमै योजनाका साथ निरन्तर रूपमा काम गरियो भने सफलता हात लाग्न सक्छ भन्ने उदाहरण मकवानपुरगढी गाउँपालिका–३ मरङ्गेका एक युवाले देखाएका छन् । कमाइको निम्ति गाउँका युवा ऋण काढेर विदेशिन बाध्य भइरहेको अवस्थामा ३६ वर्षीय मधुसुदन दाहालले गाईपालन गरेर वार्षिक रूपमा ३५ लाख रुपैयाँभन्दा बढी कमाइ गर्न सफल भएका छन् ।
२०७६ सालमा ९ वटा गाईबाट सुरु गरेको गाईपालन व्यवसाय अहिले फस्टाएर ४९ वटा गाई भएको व्यवस्थित कृषि फार्मका रूपमा रूपान्तरित भएको छ । लक्ष्मीनारायण बहुउद्देश्यीय कृषि फार्ममार्फत उनले केवल दूध उत्पादन मात्र गरेका छैनन्, उन्नत जातका गाई र बाछी उत्पादनमा समेत फार्मलाई स्थापित गरिरहेका छन् । अहिले फार्ममा २४ वटा माउगाई र २५ वटा बाछी गरी जम्मा ४९ वटा गाई छन् । १६ वटा गाईले नियमित दूध दिइरहेका छन् भने आठ वटा ब्याउने तयारीका छन् ।
मधुसुदनले गाईको संख्या बढाउनेभन्दा गुणस्तरीय नस्ल विकासलाई प्राथमिकता दिए । उन्नत सिमेन प्रयोग गरी कृत्रिम गर्भाधान (एआई)मार्फत उच्च उत्पादन दिने बाछी उत्पादनमा जोड दिए । यही कारण अहिले फार्ममा रहेका ४९ गाईमध्ये ४२ वटा आफ्नै फार्ममा जन्मिएका छन् । ‘बाहिरबाट गाई किनेर संख्या बढाएको होइन,’ मधुसुदनले भने, ‘आफ्नै गोठमा जन्मिएका बाछी हुर्काएर फार्म विस्तार गरिएको हो ।’
दुई वर्षदेखि उनले उन्नत जातका बाछी बिक्रीसमेत गरिरहेका छन् । फार्ममा भारतबाट ल्याइएको होलस्टेन जातको एउटा साँढे छ । उक्त साँढे अमेरिकन एबिएसको उच्च आनुवंशिक क्षमता भएको साँढे हो । उक्त जातको गाईबाट दैनिक ४२ लिटरसम्म दूध उत्पादन भएको उनकै फार्मको रेकर्ड छ । यस्ता आनुवंशिक गुणलाई आधार बनाएर उनले भविष्यमा उच्च उत्पादनशील गाई तयार गर्ने लक्ष्य राखेका छन् ।
उनको फार्ममा केही गाई दैनिक ३२ लिटरसम्म दूध दिने छन् । उनले गाउँकै मनकामना दुग्ध उत्पादन सहकारी संस्थामा दैनिक २ सय ४० लिटर बिक्री गर्छन् । चालु आवको साउनदेखि जेठसम्म फार्मबाट ५७ हजार लिटर दूध बिक्री गरेका छन् ।
२०७६ सालमा करिब साढे ११ लाख रुपैयाँ लगानी गरेर नौ वटा गाई खरिद गरी व्यवसाय सुरु गरेका मधुसुदनले गोठ निर्माण तथा पूर्वाधार विकासमा करिब साढे १७ लाख रुपैयाँ खर्च गरेका थिए । त्यसयता फार्मबाट आएको आम्दानीलाई पुनः लगानी गर्दै व्यवसाय विस्तार गरिरहेका छन् । अहिले उनको लक्ष्य फार्मलाई अझ आधुनिक र व्यवस्थित बनाउनु हो । गाईलाई नुहाएर भित्र प्रवेश गराउने, व्यवस्थित रूपमा दूध दोएर अर्कोतर्फबाट बाहिर निस्कने प्रणालीसहितको आधुनिक गोठ निर्माण गरिरहेका छन् । दाना, चोकर र पशु आहारका लागि छुट्टै स्टोर, माथिल्लो भागमा भुसा तथा पराल भण्डारण गर्ने गरी संरचना निर्माणको काम पनि अघि बढिरहेको छ । फार्मलाई व्यवस्थित र नमुना डेरी फार्मका रूपमा विकास गर्ने योजना उनको छ ।
फार्ममा परिवारका सदस्यसहित ६ जनाले रोजगारी पाएका छन् । पशु आहारमा आत्मनिर्भर बन्न चार बिघा जमिनमा नेपियर, सुपर नेपियर, रेड नेपियरलगायत बहुवर्षीय घाँस लगाएका छन् । स्टाइलो, बर्सिम र जैजस्ता मौसमी घाँसका साथै लिजमा लिएको जमिनमा मकै खेतीसमेत उनले गरेका छन् ।
बागमती प्रदेश सरकारअन्तर्गतको निकायसँग अनुदान सम्झौता भएपछि पूर्वाधार निर्माणमा ठूलो लगानी गरे पनि अपेक्षित अनुदान रकम प्राप्त गर्न नसकेको उनको अनुभव छ । कृषक दाहाल अनुदानको आशाभन्दा आफ्नै उत्पादन र आम्दानीको आधारमा व्यवसाय विस्तार गर्नु सुरक्षित हुने अनुभव सुनाउँछन् ।
वार्षिक रूपमा खर्च कटाएर ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका मधुसुदन गाईपालन व्यवसायप्रति पूर्ण सन्तुष्ट देखिन्छन् । उनका अनुसार यो व्यवसायको सबैभन्दा ठूलो विशेषता निरन्तर आम्दानी हो । ‘पैसा कमाउन विदेश जानैपर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘परिवारको साथमा बसेर, आफ्नै गाउँमा रहेर पनि राम्रो भविष्य बनाउन सकिन्छ ।’ उनका अनुसार गाईपालनमा सफल हुन ठूलो पूँजी होइन, निरन्तरता चाहिन्छ । उनले भने, ‘गाई पाल्ने हो भने संख्या बढाउनेभन्दा गुणस्तर बढाऔं, राम्रो सिमेन प्रयोग गरौं, आफ्नै गोठमा बाछी उत्पादन गरौं ।’
