२४ भदाैमा भीमफेदी कारागारबाट भागेका सयौं कैदीमध्ये १२८ जना अझै फरार छन्, जसमा लागुऔषध र जबरजस्तीकरणी मुद्दाका कैदी बढी छन्।
What you should know
हेटौंडा — २४ भदौमा जेन-जी आन्दोलनको क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर भागेकामध्ये १२८ जना कैदीबन्दी अझै फरार छन् । सोही दिन भागेकामध्ये शुक्रबार लागुऔषध मुद्दामा सजाय भोगिरहेका रामेछाप हिमगंगा घर भई हेटौंडा उपमहानगरपालिका-१५ फायरलाइनमा बस्दै आएका २५ वर्षीय मनोज पुलामी मगर पक्राउ परेका छन् ।
पुलामीलाई प्रहरीले हेटौंडामा चोरी आरोपमा पक्राउ गरेको थियो । पक्राउ पश्चात अनुसन्धान गर्ने क्रममा पुलामी गत २४ भदाैको राति भीमफेदी कारागारको पर्खाल फोडेर भागेको खुलेको थियो । जेन-जी आन्दोलनको क्रममा फरार भएकामध्ये अझै २६ जना भारतीय छन् । भीमफेदी कारागारबाट भागेका ४४० जना कैदीबन्दीमध्ये सुरक्षा निकायले विभिन्न स्थानबाट ३ सय १२ जना जनालाई पक्राउ गरेको छ ।
१२८ जना अझै फरार छन् । कारागारको पर्खाल फोडेर ३९ जना भारतीय नागरिक फरार भएका थिए । तीमध्ये १३ जना कारागारमा आएको भीमफेदी कारागार प्रमुख सुवास पौडेलले बताए । भीमफेदी कारगारको ‘क’ र ख ब्लकको पर्खाल भत्काएर २४ भदौमा ४४० जना कैदीबन्दी फरार भएका थिए ।
कारागारबाट भागेका १२८ जना कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी माधव काफ्लेले बताए । भीमफेदी कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सबैभन्दा धेरै लागुऔषध र जबरजस्तीकरणी मुद्दाका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंस्थित केन्द्रीय कारागार, नख्खु कारागार, भरतपुर, कास्की, तनहुँलगायत कारागारबाट भागेकाहरुलाई मकवानपुरको विभिन्न स्थानबाट ७७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पनि भीमफेदी कारागारमै राखिएको छ । अहिले भीमफेदी कारगारमा ३५ महिलासहित ९ सय ७३ जना कैदीबन्दी छन् । तीमध्ये ४४ जना विदेशी नागरिक छन् । जेल फोडेर भाग्नुअघि भीमफेदीमा १ हजार ६६ जना कैदीबन्दी थिए ।
सुधार गृहबाट भागेका ५ बालक पनि अझै फरार
हेटाैंडा उपमहानगरपालिका-११ थानाभर्याङमा रहेको बालसुधार गृहबाट २५ भदौको बिहान ७२ जना बालक भागेका थिए । तीमध्ये प्रहरीले ६७ जना नियन्त्रणमा लिएको छ भने ५ जना अझै फरार रहेको सुधारगृहका प्रमुख प्रदीप गौतमले बताए । फरार रहेकामध्ये लागुऔषध र जबरजस्तीकरणी मुद्दाका छन् । बालसुधार गृहमा ९४ जना बिज्याई गरेका बालक रहेका थिए । अहिले बालसुधार गृहमा ८३ जना बालक छन् ।
