हात्तीले जनधनको क्षति बढाएको भन्दै मेचीनगर–१, २, ३ र ४ का बासिन्दाले सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न चार बुँदे ज्ञापन बुझाएका छन्।
विराटनगर — झापाको मेचीनगर नगरपालिका–१, २, ३ र ४ का हात्ती प्रभावित नागरिकहरूले जंगली हात्तीको आतंक नियन्त्रण र नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै प्रधानमन्त्रीसमक्ष चार बुँदे ज्ञापनपत्र बुझाएका छन्।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई शुक्रबार बुझाइएको ज्ञापनपत्रमा भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ्दै गएको उल्लेख गरिएको छ। नागरिकहरूले अब उप्रान्त थप क्षति सहन नसक्ने भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।
ज्ञापनपत्रमा भारतबाट नेपाल प्रवेश गर्ने हात्तीको आवतजावतलाई मानव–वन्यजन्तु द्वन्द्वका रूपमा लिएर बिना शर्त रोक्नुपर्ने माग गरिएको छ। त्यस्तै, सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन, आवाज तथा अन्य प्रविधिको प्रयोग गरी हातीलाई पुनः बासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने उल्लेख छ।
नागरिकहरूले पूर्वी मेची किनारदेखि कोशी टप्पुसम्म प्रस्ताव गरिएको वन्यजन्तु करिडोरको अवधारणा अव्यावहारिक र जैविक सन्तुलनविपरीत रहेको दाबी गर्दै उक्त परियोजना तत्काल रोक्न पनि माग गरेका छन्। उनीहरूले यसले पूर्व–पश्चिम राजमार्ग उत्तरका बस्तीहरूलाई भविष्यमा थप जोखिममा पार्ने बताएका छन्।
त्यसैगरी, जंगली जनावरको आक्रमणका घटनालाई पर्यटनसँग जोडेर प्रचारप्रसार गरिनु अनुचित भएको भन्दै हाती आतंकलाई आधार बनाएर सञ्चालन हुने पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधि तत्काल बन्द गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
ज्ञापनपत्रमा मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिकहरू चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ।
