मकवानपुरका नाै पालिकामा बजेट नाै अर्ब हाराहारीको बजेट, आन्तरिक स्रोत नहुँदा अनुदानकै भर

जिल्लाका अधिकांश पालिकाले सडक, भवन, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेका छन्।

असार ११, २०८३

प्रताप विष्ट

Makawanpur's nine municipalities have budgets of around Rs. 1 billion, relying on grants due to lack of internal resources

What you should know

हेटौ‌ंडा — हेटौंडा उपमहानगरपालिकाले आगामी आवका लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । जिल्लामा भूगोल र जनसंख्याको हिसाबले सानो ईन्द्रसरोवर गाउँपालिकाले ४२ करोड २ लाख ३० हजार रुपैयाँको बजेट पारित गरिसकेको छ । राक्सिराङ गाउँपालिकाले भने बजेट प्रस्तुत गर्ज सकेन । 

मकवानपुरका १० स्थानीय तहमध्ये ९ वटा पालिकाले आगामी २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिसकेका छन् । केहीले बजेट पारित पनि गरिसकेका छन् । हालसम्म सार्वजनिक भएका ९ पालिकाको कुल बजेट ८ अर्ब ९० करोड ९४ लाख ३५ हजार रुपैयाँभन्दा बढी पुगेको छ । बजेटमा अधिकांश पालिकाले सडक, भवन, खानेपानी, पूर्वाधार, पदमार्ग, वडा तहका योजना र स्थानीय संरचना निर्माणलाई प्राथमिकतामा राखेका छन् । 

हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी, मकवानपुरगढी, भीमफेदी, बकैया, बागमती, इन्द्रसरोवर र कैलाश गाउँपालिकाले आगामी वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । राक्सिराङ गाउँपालिकाले भने असारको अन्तिमसम्म गाउँसभा गरी बजेट ल्याउने तयारी गरेको जनाएको छ । 
आन्तरिक स्रोत कमजोर, संघीय तथा प्रदेश अनुदानमा निर्भरता, चालु खर्चको बढ्दो दबाब र पुँजीगत खर्च कार्यान्वयनको चुनौतीबीच पालिकाहरूले आगामी वर्षको विकास प्राथमिकता तय गरेका हुन् । 

आगामी चालु आवका लागि सार्वजनिक गरिएको बजेटमध्ये सबैभन्दा ठूलो आकार हेटौंडा उपमहानगरपालिकाको छ । जिल्लाको एक मात्र उपमहानगरपालिका तथा सबैभन्दा ठूलो स्थानीय तह भएकाले पनि हेटौंडाको बजेट अन्य पालिकाको तुलनामा स्वाभाविक रुपमा ठूलो देखिएको हो ।

हेटौंडाले आगामी आवका लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँ कम बजेट ल्याएको उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि मात्रै ६७ करोड १९ लाख ८१ हजार विनियोजन गरेको छ । वडा तहका योजना तथा कार्यक्रमका लागि ४८ करोड ४० लाख ६२ हजार रुपैयाा छुट्याइएको छ । सडक सुरक्षा, उज्यालो सहर, सिसीटिभी जडान, खानेपानी, एकीकृत बसपार्क, टर्मिनल भवन र सहरी विकास कार्यक्रम  र मिनी चिडियाखाना हेटौंडाको प्राथमिकतामा परेका छन् ।

हेटौंडापछि बजेटको आकारका हिसाबले मनहरी गाउँपालिका अगाडि देखिएको छ । मनहरीले आगामी आर्थिक वर्षका लागि ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको बजेटमा पूर्वाधार विकास सबैभन्दा ठूलो क्षेत्र बनेको छ ।

मनहरीले पूर्वाधार विकासका लागि ३४ करोड ९१ लाख ६६ हजार रुपैयाँ विनियोजन गरेको छ भने सामाजिक विकासतर्फ २८ करोड १८ लाख ८ हजार छुट्याएको छ । गाउँपालिकाले नदीजन्य पदार्थ बिक्रीलाई आम्दानीको मुख्य स्रोत मानेको छ । दहत्तर–बहत्तर बिक्रीबाट मात्रै २६ करोड ७४ लाख ८२ हजार आम्दानी हुने अनुमान गरिएको छ ।

थाहा नगरपालिकाले ९० करोड ९७ लाख ४४ हजार रुपैयाँको बजेट सर्वसम्मत पारित गरेको छ । नगर उपप्रमुख भरत गोपालीले प्रस्तुत गरेको बजेटमा कृषि उत्पादन वृद्धि, स्थानीय सडक तथा पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ । संघीय सरकारबाट ५५ करोड ८४ लाख ९१ हजार रुपैयाँ र प्रदेश सरकारबाट १२ करोड ६२ लाख ५२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

बकैया गाउँपालिकाले ८९ करोड ५० लाख ४४ हजारको बजेट प्रस्ताव गरेको छ । उपाध्यक्ष भक्तबहादुर खत्रीले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधारलाई समृद्ध बकैया निर्माणको आधार मानिएको छ । कुल बजेटमध्ये चालुतर्फ ६३ करोड १३ लाख १९ हजार र पुजीगततर्फ २५ करोड ३७ लाख २५ हजार प्रस्ताव गरिएको छ । पूर्वाधार विकासतर्फ ९ करोड ३७ लाख ५० हजार र आर्थिक विकासतर्फ ३ करोड ९६ लाख ७५ हजार विनियोजन गरिएको छ ।

बजेटको आकारमा बकैयापछि भीमफेदी गाउँपालिका रहेको छ । भीमफेदीले ८३ करोड १ लाख ६२ हजार ३ सयको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले पर्यटन, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राखेको छ । लटरमेश्वर महादेव मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, हावाभञ्ज्याङदेखि लटारमेश्वरसम्म पदमार्ग निर्माण गर्ने, कोगटे–धार्के–महाभीर–फाप्लाड सडक स्तरोन्नति गर्ने र कोदो खेती प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने योजना बजेटमा समेटिएका छन् । प्रमुख प्रशासकीय अधिकृत चेतनाथ न्यौपानेका अनुसार बजेट संघीय तथा प्रदेश अनुदान, राजस्व बाँडफाँट, रोयल्टी, सवारी कर र आन्तरिक स्रोतमा आधारित छ ।

बागमती गाउँपालिकाले ७३ करोड २० लाख रुपैयाँको बजेट ल्याएको छ । उपाध्यक्ष फणीन्द्र तिमल्सिनाले प्रस्तुत गरेको बजेटमा शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । पूर्वाधार विकासतर्फ १६ करोड १९ लाख विनियोजन गरिएको छ । बागमती फुटबल एकेडेमी सञ्चालन तथा व्यवस्थापनका लागि ५० लाख रुपैया र राष्ट्रिय बागमती गोल्डकपका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ । किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर अधिकतम ५ रुपैयाँ अनुदान उपलब्ध गराउन १ करोड विनियोजन गरिएको छ ।

बागमतीकै हाराहारीको बजेट मकवानपुरगढी गाउँपालिकाले ल्याएको छ । मकवानपुरगढीले ७२ करोड ७५ लाख २३ हजार १२० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, सुशासन र वातावरणीय सन्तुलनलाई विकासका सात आधार स्तम्भका रुपमा अघि सारेको छ । सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ३२ करोड १ लाख ७८ हजार १२० रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ २३ करोड ३० लाख, आर्थिक विकासतर्फ ५ करोड ४५ लाख १० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १० करोड २५ लाख छुट्याइएको छ ।

विकट भूगोल रहेको कैलाश गाउँपालिकाले ५५ करोड ८४ लाख ६९ हजारको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले प्रस्तुत गरेको नीति कार्याक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा लक्षित कार्यक्रम, चेली प्रोत्साहन, एक घर एक धारा, पूर्ण सरसफाइ, रैथाने बाली संरक्षण, स्वास्थ्य सेवा विस्तार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बालविवाह न्यूनीकरण र किशोरी शिक्षालाई जोड दिँदै चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

सार्वजनिक बजेटमध्ये सबैभन्दा सानो आकार इन्द्रसरोवर गाउँपालिकाको छ । इन्द्रसरोवरले ४२ करोड २ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष उमा लामाले प्रस्तुत गरेको बजेटमा पर्यटन, कृषि, पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ । गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले कुलेखानी जलाशयलाई केन्द्रमा राखेर पर्यटनलाई आर्थिक विकासको आधार बनाइएको बताए । होमस्टे प्रवद्र्धन, पर्यटकीय पदमार्ग निर्माण, बेमौसमी तरकारी तथा मत्स्यपालन प्रवद्र्धन र शीतभण्डार तथा संकलन केन्द्र स्थापना गर्ने कार्यक्रम बजेटमा समेटिएका छन्।

मकवानपुरका १० पालिकामध्ये राक्सिराङ गाउँपालिकाले मात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउन बाँकी छ । गाउँपालिकाले असार अन्तिमसम्ममा गाउँ सभा गर्ने तयारी गरेको अध्यक्ष राजकुमार मल्लले बताए । उनका अनुसार बजेटको आकार अन्तिम भइसकेको छैन । तर करिब ५० करोडको हाराहारीमा बजेट आउने आउने अनुमान गरिएको छ । आन्तरिक स्रोत कमजोर रहेको र संघीय तथा प्रदेश सरकारबाट आउने अनुदान पनि घट्दो क्रममा रहेकाले बजेट निर्माण चुनौतीपूर्ण रहेको उनले जानकारी दिए ।

मल्लका अनुसार राक्सिराङले आगामी बजेटमा ठूलो पूर्वाधार योजनाभन्दा शिक्षा, स्वास्थ्य र मानवीय विकासका कार्यक्रमलाई प्राथमिकता दिने तयारी गरेको छ । विकास बजेट कमजोर हुनसक्ने भए पनि शिक्षा र स्वास्थ्यतर्फको बजेट घटाउने सोच नरहेको उनले बताए । चालु आर्थिक वर्षका योजनाहरू अझै कार्यान्वयनकै चरणमा रहेकाले अन्तिम समयसम्म थप योजना सम्पन्न हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

समग्रमा मकवानपुरका पालिकाहरुको बजेटले स्थानीय तहको विकास प्राथमिकता अझै पनि पूर्वाधारमै केन्द्रित रहेको छ । सडक, भवन, खानेपानी, सहरी पूर्वाधार, पदमार्ग, खेल पूर्वाधार र प्रशासनिक संरचनामा ठूलो रकम विनियोजन गरिएको छ । तर शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद र सामाजिक समावेशीकरणलाई पनि बजेटले सँगसँगै अघि बढाउने प्रयास गरेको छ । कमजोर आन्तरिक स्रोत, अनुदानमा निर्भरता र पुँजीगत बजेट समयमै खर्च गर्ने चुनौती व्यहोरिरहेका पालिकाहरुले आगामी आवको  पनि त्यही चुनौती व्यहोर्ने अवस्था रहेको सरोकारवालाको भनाइ छ ।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully