कृषि तथा वन विज्ञान विश्वविद्यालयका १३ समूहले ऋण लिएर आलु चिप्स, माछा, विरुवा र अचार उत्पादनजस्ता व्यवसायिक परियोजना सुरु गरेका छन् ।
What you should know
चितवन — सप्तरीका आनन्दकुमार यादव कृषि तथा वन विज्ञान विश्वविद्यालयको आङ्गिक क्याम्पस रोल्पा माडीचौरको प्राकृतिक स्रोत व्यववस्थापन कलेजका कृषि स्नातकको अन्तिम सत्रका विद्यार्थी हुन् ।यादवसहित चार जना साथी मिलेर रोल्पामा अहिले आलुको चिप्स तयार गरेर बजारमा पुर्याउँदै आएका छन् ।
यादव र उनका साथीहरु हिमलता बुढामगर, शैलेस सिंह, पूर्णमाया चौधरी मिलेर यस्तो काम सुरु गर्न विश्वविद्यालयले बिना ब्याज रकम उपलब्ध गराएको हो । ‘हामीले फिर्ता गर्ने शर्तमा विश्वविद्यालयबाट १ लाख ५० हजार रुपैयाँ पाएका थियौं । एक वर्षअघि यो काम सुरु गरेको हो । ब्याज बिनाको रकम हामीले फिर्ता गरिसकेका छौं,’ आनन्दकुमारले भने ।
उनीहरुले तयार गरेको आलु चिप्स तयारी अवस्थाको छैन । यो किनेर घरमा लगेर तेलमा तारेर खान मिल्छ । प्याकेटमा चिप्ससँगै मसला पनि छ । ‘सिधैं खान मिल्ने चिप्स कहिले तयार भएको हो? कस्तो तेलमा पकाएको हो? भन्ने धरमर हुन सक्छ । यस्ता चिप्स स्वास्थ्यकर छैन भन्ने लाग्छ । त्यसैले हामीले घरमा लगेर फुराएर खान मिल्ने तरिकाले स्वास्थ्यकर चिप्सको प्याकेट बनायौं,’ उनले भने ।
उनीहरुले तयार गरेका चिप्स स्थानीय रुपमा केही बिक्री हुन्छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका विभिन्न ठाउँमा रहेका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजका शिक्षक–विद्यार्थी घुम्न आउँदा कोसेलीका रुपमा किनेर लैजान्छन् । त्यसैले आफुहरु उत्साहित भएको यादवले सुनाए ।
आशिष श्रेष्ठ मत्स्य विज्ञान संकायको स्नातकोत्तरका विद्यार्थी हुन् । ‘हामीले मत्स्य भेदा नामक कम्पनी सुरु गरेका छौं । नेपाली उपभोक्ताहरु अचेल खाने कुरा सागसब्जी, माछामासुको स्रोत के हो ? कत्तिको सफा र स्वस्थकर छ भन्नेमा सचेत र सजग हुन थालेका छन् । हामीले किसानबाट राम्रा उत्पादन ल्याएर उपभोक्तालाई दिने गरेर यो कम्पनी बनायौं,’ श्रेष्ठले भने ।
उनीहरुले अहिले माछाबाट काम सुरु गर्दै छन् । माछामा शरीरका लागि उपयोगी पोषक तत्व हुन्छ । ‘तर त्यो माछा कहाँबाट ल्याएको हो? कसरी राखेको हो? भन्ने कुराले पनि अर्थ राख्छ । हामी स्वस्थ तरिकाले ग्राहकसम्म माछा पुर्याउन प्रतिबद्ध छौं । माछा चिसो ठाउँमा राख्छु पर्छ । ग्राहकसम्म चिसै पुर्याउनु पर्छ । यसलाई कोल्डचेन मेन्टेन गर्ने भनिन्छ । हामी यो मेन्टेन गर्छौं,’ श्रेष्ठले भने । उनीहरुको समूहलाई विश्वविद्यालयले ४ लाख रुपैयाँ अनुदान दिने पक्का भएको छ ।
नवराज दवाडी कृषि संकायको बागबानीमा स्नातकोत्तर तहमा अध्ययनरत छन् । उनीहरुको समूहले टिस्युकल्चर गरेर सजावटमा प्रयोग हुने विभिन्न मूल्यवान विरुवाको नर्सरी बनाउने भएको छ । यसका लागि पनि उनीहरुले विश्वविद्यालयबाट अनुदान लिएका छन् । मुस्कान बिष्ट बर्दिवास कलेजका विद्यार्थी हुन् । उनीहरुको समूहले शितल चिनीको पत्ताको पाउण्डर फलको अचार बनाउँछ । ‘हामीले यो अचारमा कुनै रसायन हैन घरायसी विधि नै प्रयोग गरेका छौं । स्वस्थकर बनाएका छौं,’ विष्टले भनिन् ।
धनकुटा पार्खिबास कलेजका विद्यार्थी सुभा राईको समूहले ‘पूर्वेली धुले अचार’ तयार गरेर बजारमा लैजान्छ । गाउँमा पाइने सिलाम, तिल, फिलुङ्गे राखेर धुले अचार बनाइन्छ । मिठ्ठो भए पनि गाउँघरमा दसैंमा मात्रै खाने चलन छ । यसलाई व्यवसायिक बनाउन खोजेको सुभाले बताइन् । ‘सिलाम, तिलमा पोषण हुन्छ । रैथाने उत्पादनले खाने र बेच्ने दुवैलाई राम्रो हुन्छ भनेर यसमा हात हालेका हौं,’ उनले भनिन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीको १३ वटा समूहले यसरी व्यसाय सुरु गरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालय (डोरेक्स)ले विश्वविद्यालय विजनेश इक्युबेशन सेन्टर सञ्चालन गरेको छ । त्यहाँ आएका विभिन्न योजना छनौट गरेर उपयुक्त योजनामा डोरेक्सले अनुदान दिने गरेको छ । डोरेक्सका निर्देशक उज्जवल तिवारीले पढ्दै गरेका विद्यार्थीलाई उद्यमशील बनाउने उद्देश्यले यो परियोजना आएको बताए ।
यसका लागि विश्वविद्यालयले बढीमा ५ लाख रुपैयाँसम्म ब्याज अनुदानमा रकम उपलब्ध गराउँछ । वर्ष दिनअघि सुरु भएको यो कार्यक्रममा पहिलो चरणमा सात र दोस्रो चरणमा ६ गरेर १३ समूहले लगानीका लागि बीउ पुँजीका रुपमा विश्वविद्यालयबाट रकम लिएका छन् । यसका लागि विद्यार्थीहरुले कम्तीमा एक जना महिला राखेर तीनदेखि पाँच जनाको समूह बनाउनु पर्ने हुन्छ ।
नयाँ सोच र शैलीको व्यवसाय योजनामा बजारको पनि सम्भावना हेरेर लगानी गर्ने तिवारीले बताए । योजना छनोटका लागि करिब तीन महिना लाग्ने उनको भनाइ छ । लगेको रकम डेढदेखि तीन वर्षभित्र फिर्ता गर्नु पर्छ । विद्यार्थीलाई रोजगारी सिर्जना गर्न केन्द्रित बनाउन यस्तो योजना ल्याएको तिवारीको भनाइ छ ।
