स्थानीय तहका गाउँ–नगरसभा : भोट भाषा शिक्षणदेखि जलवायु अनुकूल कृषि प्रविधिसम्म

सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षका लागि शिक्षा, कृषि, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर बजेट र नीति सार्वजनिक गरेका छन्।

असार १०, २०८३

अनिश तिवारी

Local level village and municipal assemblies: From language teaching to climate-friendly agricultural technology

सिन्धुपाल्चोक — जिल्लाका अधिकांश स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै गाउँ तथा नगरसभा सम्पन्न गरेका छन्। शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, विपद् व्यवस्थापन र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तहहरूले आगामी वर्षका कार्यक्रम अघि सारेका छन्।

बाह्रबिसे नगरपालिकाले मंगलबार सम्पन्न १९औँ नगरसभामार्फत ७४ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरप्रमुख बालकृष्ण बस्नेतका अनुसार बजेटमा भोट भाषा (सम्भोटा लिपि) शिक्षणका लागि शिक्षक व्यवस्था, कक्षा १० सम्म निःशुल्क दिवा खाजा, कृषि एम्बुलेन्स सञ्चालन, कृषि उपज बिक्री कक्ष तथा चिस्यान केन्द्र स्थापना, महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि लगायतका कार्यक्रम समावेश छन्।

त्रिपुरासुन्दरी गाउँपालिकाले बुधबार सम्पन्न २१औँ गाउँसभाबाट ५० करोड ८४ लाख ११ हजार रुपैयाँको बजेट पारित गरेको छ। गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले निःशुल्क शिक्षा, कक्षा ८ सम्म दिवा खाजा र ‘आमा बचाऊ अभियान’लाई निरन्तरता दिइएको बताए।

उनका अनुसार नवीन अनुसन्धानमा आधारित जलवायु अनुकूल कृषि प्रविधि विस्तार, प्रत्येक वडामा खेलमैदान निर्माण, ‘अध्यक्षसँग जनता’ कार्यक्रम र कृषि उपज संकलन केन्द्र स्थापना प्रमुख प्राथमिकतामा परेका छन्। ‘कृषि उपज बिक्री कक्ष, बाँझो जमिन खेती गर्ने किसानलाई प्रतिरोपनी प्रोत्साहन अनुदान, कृषि बजारीकरण र चिस्यान केन्द्र स्थापना पनि योजनामा समेटिएको छ। सुरु गरिएका र सम्पन्न नभएका योजना यसै वर्ष सम्पन्न गरिनेछ। विभिन्न जातीय संस्कृति झल्कने प्राचीन महत्त्व बोकेका धार्मिक धरोहर विकास गरिनेछ,’ उनले भने।

भोटेकोशी गाउँपालिकाले शुक्रबार १७औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ। गाउँपालिका उपाध्यक्ष दिछेन शेर्पाका अनुसार निःशुल्क शिक्षा, स्वास्थ्य सेवा विस्तार तथा मनसुनजन्य विपद् न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

बलेफी गाउँपालिकाले १९औँ गाउँसभाबाट ५९ करोड ८५ लाख ३८ हजार रुपैयाँको बजेट पारित गरेको छ। गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटनसँगै गाउँसभा सञ्चालन गरिएको थियो।

जुगल गाउँपालिकाले शिक्षा, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम अघि सारेको छ। गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोका अनुसार सेलाङमा बेसाहारा बालबालिकाका लागि अनाथालय स्थापना, ‘शैक्षिक खोज अभियान’को निरन्तरता, मिनी रंगशाला निर्माण तथा गुणस्तरीय शिक्षामा लगानी गर्ने योजना समावेश गरिएको छ।

उनले गाउँपालिकाले दुर्गम क्षेत्रका १७ जना बालबालिकालाई चौतारास्थित रत्नराज्य माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था मिलाई शिक्षा, आवास र खानपानको सम्पूर्ण खर्च व्यहोर्दै आएको जानकारी दिए।

इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ८३ करोड १० लाख ७९ हजार रुपैयाँको आय–व्यय अनुमान सार्वजनिक गरेको छ। चौतारा साँगाचोकगढी नगरपालिका, हेलम्बु गाउँपालिका लगायत अन्य स्थानीय तहले पनि शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

मेलम्चीमा स्थगित

मेलम्ची नगरपालिकाको नगरसभा भने बजेट बाँडफाँटमा सहमति जुट्न नसक्दा स्थगित भएको छ। बुधबार बसेको नगरसभा बैठकमा बजेट वितरणमा असन्तुष्टि जनाउँदै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि सभा निर्धारित कार्यसूचीअनुसार अघि बढ्न सकेन।

नगरपालिकाले अर्को नगरसभा बैठक असार १७ गतेका लागि तय गरेको जनाएको छ। सो बैठकमा बजेट बाँडफाँटसम्बन्धी विवाद समाधान गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट पारित गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully