अमलेटमा माछाको काँडा भेटिएपछि प्लाजा होटललाई ३ लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका खाद्यवस्तु बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो।

असार ९, २०८३

गौरव पोखरेल

Plaza Hotel fined Rs 300,000 after fish bones found in omelette

भरतपुर — चितवनको भरतपुरस्थित लर्ड्स प्लाजा होटललाई उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका खाद्यवस्तु बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो।

प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘भरतपुर–१० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटलमा खानाको गुणस्तरसम्बन्धी उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको निरीक्षण टोलीले अनुगमन गर्दा गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने खालका खानेकुरा उपलब्ध गराएको पाइएकाले उपभोक्ता संरक्षण ऐनबमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको हो।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि भरतपुर आएका गृहमन्त्री सुधन गुरुङ यही होटलमा बसेका थिए। होटलमा खाजा खाने क्रममा उनले मगाएको अमलेटमा माछाको हड्डी भेटिएपछि प्रशासनलाई जानकारी गराएका थिए।

गृहमन्त्रीको सचिवालयका अनुसार त्यसपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले होटलमा पुगेर खाद्यवस्तुको गुणस्तरबारे निरीक्षण तथा सञ्चालकसँग सोधपुछ गरेको थियो। त्यसपछिको अनुगमनका आधारमा प्रशासनले होटललाई जरिवाना गर्ने निर्णय गरेको भनिएको छ ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully