कुलेखानी जलाशयको संरक्षणदेखि पर्यटन पूर्वाधार र डिजिटल सिकाइसम्म प्राथमिकतामा ।
What you should know
हेटौंडा — जनसंख्या र भूगोलका हिसाबले मकवानपुरको सानो पालिका इन्द्रसरोवर गाउँपालिकाले मंगलबार पारित गरेको नीति तथा कार्यक्रममा कुलेखानी जलाशय इन्द्रसरोवरको संरक्षण, पर्यटन पूर्वाधारको विकास र . कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई जोड दिएको छ ।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले १७ औं गाउँ सभामा प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रममा मानव निर्मित ताल कुलेखानी जलायश पालिकाको आर्थिक विकासको मेरुदण्ड भएकाले यसको संरक्षण र सम्वर्द्धनमा पालिकाले आवश्यक लगानी गर्ने उल्लेख गरेको छ । यसैगरी धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि पालिकाका ऐतिहासिक र पुरातात्विक क्षेत्रहरूको संरक्षणका साथै प्रचार प्रसार गर्ने जनाएको छ । पालिकाको नीति तथा कार्यक्रममा हावापानी अनुकूल तरकारी खेती गर्न र मत्स्यपालनका लागि पालिकावासीलाई प्रोत्साहन गर्ने उल्लेख छ ।
काठमाडौं जोड्ने छोटो दूरीका सडकहरू यसै पालिका भएर जाने भएकाले सडकको स्तरोन्नति अत्यावश्यक रहेको उल्लेख गर्दै सम्बन्धित निकायको समन्वयमा सडकको स्तरोन्नति गर्ने कुरामा जोड दिइएको छ ।
सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, डिजिटल सिकाइ र प्राविधिक शिक्षामा जोड दिने उक्त कार्यक्रममा समेटिएको छ । यसैगरी कुलेखानी जलाशय क्षेत्रमा गेग्रान जम्मा हुने प्रवृत्तिलाई नियन्त्रण गर्न वृक्षरोपण र बायो–इन्जिनियरिङजस्ता कार्य अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
संघीय राजधानीसँग जोडिएको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४२ करोड बढीको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न इन्द्रसरोवर गाउँपालिकाको १७ औं गाउँसभाले आगामी आर्थिक वर्षका लागि ४२ करोड २ लाख ३० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले बजेट प्रस्तुत गरेकी हुन् । गाउँसभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । ‘सुखी र समृद्ध इन्द्रसरोवर’ निर्माणको लक्ष्यसहित इन्द्रसरोवरले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन, कृषि, पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ ।
नेपालकै ठूलो मानव निर्मित ताल (कुलेखानी जलाशय)लाई केन्द्रमा राखेर गाउँपालिकाले पर्यटनलाई आर्थिक विकासको मुख्य आधार बनाएको पालिका अध्यक्ष पुडासैनीले बताए । बजेटमा होमस्टे प्रवर्द्धन, पर्यटकीय पदमार्ग निर्माण र काठमाडौं तथा हेटौंडाबाट पर्यटक आकर्षित गर्न विशेष प्याकेजहरू घोषणा गरिएको उनले बताए ।
सूचना, सञ्चार र प्रविधिलाई आत्मसात गर्दै गाउँपालिकाले प्रशासनिक सेवालाई चुस्त बनाउने घोषणा गरेको छ । सबै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने र अनलाइनमार्फत कर तिर्न सकिने प्रणाली लागू गर्ने योजना गाउँपालिकाको रहेको छ ।
सुरक्षाका लागि पर्यटकीय र प्रशासनिक क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्ने, सामुदायिक विद्यालयमा डिजिटल सिकाइ र प्राविधिक शिक्षामा लगानी वृद्धि गर्ने नीति गाउँपालिकाले लिएको छ । पालिकाले नीति तथा कार्यक्रम र आगामी आवको बजेट पारित गरिसकेको छ ।
