उपमहानगरले पुर्वाधारतर्फ ६७ करोड १९ लाख, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ४८ करोड ४० लाख विनियोजन गरेको छ ।
मकवानपुर — हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ५८ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
१९औं नगरसभामा उपप्रमुख राजेश बानियाँले बजेट कार्यान्वयनका लागि आन्तरिक स्रोत, राजस्व बाँडफाँट तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई मुख्य स्रोतका रूपमा लिइएको जनाएका छन् ।
बजेटका अनुसार आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ९१ करोड २० लाख ४८ हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट १० करोड १ लाख ७२ हजार रुपैयाँ तथा संघीय सरकारको अनुदानबाट १ अर्ब १८ करोड ४६ लाख रुपैयाँ व्यहोर्ने अनुमान गरिएको छ।
उपमहानगरले पुर्वाधारतर्फ ६७ करोड १९ लाख, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ४८ करोड ४० लाख विनियोजन गरेको छ ।
आर्थिक विकासतर्फ १० करोड ३६ लाख, सामाजिक विकासतर्फ ८४ करोड १५ लाख, जनस्वास्थ्यतर्फ १ करोड ४० लाख र युवा तथा खेलकुदमा १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नगरसभामा प्रस्तुत बजेटले आगामी वर्षका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनको आधार तय गरेको उपमहानगरपालिकाले जनाएको छ।
