खुला रूपमा कुखुरा तथा हाँस पालिने र जैविक सुरक्षा कमजोर भएका क्षेत्रमा संक्रमणको जोखिम बढी देखिएको छ।
What you should know
काभ्रे — पछिल्लो समय काठमाडौं उपत्यकामा फैलिइरहेको बर्डफ्लु (एच५एन१) काभ्रेमा समेत पुष्टि भएको छ । बनेपा नगरपालिका-१३ साँगा र पनौती नगरपालिका–७ स्थित सुकुमवासी बस्ती क्षेत्रमा संक्रमण पुष्टि भएको छ ।
जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख ब्रजकिशोर ठाकुरका अनुसार साँगास्थित एक लेयर्स कुखुरा फार्ममा करिब १६ सयदेखि १७ सय कुखुरा तथा पनौतीमा करिब ७ सय ५० वटा हाँस र स्थानीय कुखुरा प्रभावित भएका छन्। ती स्थानमा संक्रमित पन्छी नष्ट गर्ने (डिस्पोजल) कार्य भइरहेको उनले बताए। 'हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दुई स्थानमा मात्र एच५एन१ संक्रमण देखिएको छ। बजारमा हल्ला भएजस्तो ठूला व्यावसायिक फार्महरूमा संक्रमण पुष्टि भएको छैन,' ठाकुरले भने ।
जिल्लाका अधिकांश ठूला व्यावसायिक पोल्ट्री फार्महरूले जैविक सुरक्षा मापदण्ड पालना गरेकाले त्यस्ता फार्महरूमा संक्रमण नदेखिएको ठाकुरले बताए । तर खुला रूपमा कुखुरा तथा हाँस पालिने र जैविक सुरक्षा कमजोर भएका क्षेत्रमा संक्रमणको जोखिम बढी देखिएको छ।
पोल्ट्री व्यवसायी मञ्च नेपाल काभ्रेका सचिव दयाराम महतले पनि ठूला व्यावसायिक फार्महरू सुरक्षित रहेको दाबी गर्दै साना तथा अव्यवस्थित पालनस्थलमा समस्या देखिएको बताए ।
व्यवसायीहरूले संक्रमण नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय प्रभावकारी नभएको गुनासो गरेका छन्। संक्रमण देखिएका स्थानबारे समयमै सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा सरोकारवालासँग समन्वय हुन नसकेको उनीहरूको भनाइ छ।
यता जिल्ला पशु सेवा कार्यालयले भने व्यवसायी, प्राविधिक तथा स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। कार्यालय प्रमुख ठाकुरका अनुसार सामाजिक सञ्जाल र प्रत्यक्ष छलफलमार्फत सतर्कता सम्बन्धी जानकारी प्रवाह भइरहेको छ। उनले कुखुरा तथा पन्छी ढुवानीमा समेत विशेष निगरानी आवश्यक रहेको औंल्याउँदै चेकपोस्टहरूमा स्वास्थ्य प्रमाणपत्र तथा ढुवानी प्रक्रिया कडाइका साथ परीक्षण गर्नुपर्ने बताए।
