धुलिखेल–खावा सडक खण्डमा १५ दिन टिपर संचालनमा रोक

टिपरबाहेकका यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई भने साँझ ७ देखि बिहान ५ बजेसम्म मात्रै प्रवेशमा रोक लगाइनेछ।

असार ८, २०८३

ज्योती श्रेष्ठ

Tipper operation banned on Dhulikhel-Khawa road section for 15 days

काभ्रे — अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा भइरहेको निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन टिपर सञ्चालनमा रोक लगाइने भएको छ।

सोमबार काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरूको समन्वय बैठकले सडक निर्माणको बाँकी काम सम्पन्न गर्न एक लेन मात्र सञ्चालन गर्नुपर्ने अवस्था रहेको निष्कर्ष निकाल्दै यही असार १४ देखि असार २८ सम्म उक्त सडक खण्डमा टिपरको प्रवेश पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो । निर्णयअनुसार टिपरबाहेकका यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई भने साँझ ७ देखि बिहान ५ बजेसम्म मात्रै प्रवेशमा रोक लगाइनेछ। एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन हुन पाउनेछन्।

बैठकले टिपरहरूलाई वैकल्पिक मार्गतर्फ डाइभर्ट गर्न आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग सडक डिभिजन कार्यालयले समन्वय गर्ने निर्णय पनि गरेको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार निर्माणाधीन सडक खण्डको स्तरोन्नति कार्यलाई छिटो सम्पन्न गरी सर्वसाधारणलाई सहज आवागमनको व्यवस्था मिलाउन अस्थायी रूपमा यस्तो ट्राफिक व्यवस्थापन लागू गरिएको हो।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully