यातायात कार्यालय हेटौंडामा विद्युत सर्ट भएर आगलागी, लाइसेन्स सेवा अवरुद्ध

कार्यालयमा आइतबार बिहान विद्युत सर्ट भएर आगलागी हुँदा नयाँ लाइसेन्स आवेदन, वर्ग थप, बायोमेट्रिक र लाइसेन्स नवीकरण सेवा अनिश्चितकालका लागि रोकिएको छ ।

असार ७, २०८३

प्रताप विष्ट

Fire breaks out at Hetauda Transport Office due to electrical short circuit, license service disrupted

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालयमा विद्युत सर्ट भई आगलागी हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा प्रभावित भएको छ ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय, हेटौंडाले आइतबार सूचना जारी गर्दै कार्यालयको इन्ट्रानेट प्रणालीका डिभाइसहरुमा बिहान ८:४० बजे विद्युत सर्ट भई अचानक आगलागी हुँदा सवारी चालक अनुमतिपत्रतर्फको प्रणालीमा क्षति पुगेको जनाएको छ ।

कार्यालयका अधिकृत टेकनाथ काफलेका अनुसार क्षतिको कारण नयाँ लाइसेन्स आवेदन, वर्ग थप (क्याटेगोरी थप), बायोमेट्रिक तथा लाइसेन्स नवीकरणलगायतका सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।

यद्यपि, प्रयोगात्मक (ट्रायल) परीक्षा भने पूर्व प्रकाशित कार्यतालिका अनुसार नै सञ्चालन हुने कार्यालयले जनाएको छ । कार्यालयका शाखा अधिकृत काफलेद्वारा जारी सूचनामा आगलागीबाट भएको क्षतिको मूल्यांकन तथा प्रणाली पुन: सञ्चालनको तयारी भइरहेको कार्यालयले जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully