पनौतीमा बाढीपीडित १४ परिवारको आवास निर्माण थालियो

बाढीपहिरो प्रभावतिमध्ये एकल महिला, अपाङ्गता भएका, जेष्ठ नागरिक र विपन्न परिवारलाई प्राथमिकतामा राख्दै १४ घर निर्माण सकेर भदौभित्र हस्तान्तरण गर्ने लक्ष्य छ।

असार ७, २०८३

ज्योती श्रेष्ठ

Construction of houses for 14 flood-affected families begins in Panauti

What you should know

काभ्रे — २०८१ असोजको बाढी र पहिरो प्रभावित काभ्रेको पनौती नगरपालिका १२ का १४ परिवारका लागि आवास निर्माण कार्य सुरु गरिएको छ । 

जिल्लास्थित शान्ति जनआर्दश सेवा केन्द्रको नेपाल बाढी प्रतिकार्य परियोजना अन्र्तगत वडा १२ का एकल महिला, अपाङ्गता भएका व्यक्ति, विपन्न नागरिक, जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर अहिले १४ परिवारको लागि आवास निर्माण कार्य अघि सारिएको हो । 

उक्त कार्यको लागि ह्याबिट्याट फर ह्युमनटी नेपाल र पनौती नगरपालिकाले आर्थिक सहयोग गरेको छ । जस अन्तरगत ह्याबिट्याट फर ह्युमनटी नेपालले ५५ प्रतिशत र पनौती नगरपालिकाले २५ प्रतिशत आर्थिक र २० प्रतिशत स्थानीयको श्रमदानमा आवास निर्माण भइरहेको छ । शनिबारबाट औपचारिक रुपमा केन्द्रले आवास निर्माण कार्य सुरु गरेको छ । निर्माण कार्यमा काभ्रेको पनौतीस्थित काभ्रे इङ्गलिस बोर्डिङ स्कुलका ४० जना शिक्षक कर्मचारीले श्रमदान गरेका थिए । 

एउटा आवास निर्माण गर्न श्रमदानबाहेक ६ लाख ५० हजार रुपैयाँ लाग्ने परियोजना संयोजक सुनिता तामाङले जानकारी दिइन् । उनका अनुसार सिमेन्ट ब्याम्बो फ्रेम टेक्नोलोजीबाट घर निर्माण गरिनेछ । ३ कोठा र १ वटा शौचालयसहित घर निर्माण गरिनेछ । शनिबारबाट आवास निर्माण कार्य थालनी भएको र भदौमा सम्पन्न गरेर प्रभावितहरुलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको उनले बताइन् । 

२०७२ को भूकम्पले स्थानीय कान्छी खत्रीको घर भत्किएपछि शान्ति जनआर्दश सेवा केन्द्र र क्याथोलिक रिलिफ सर्भिस (सिआरएस) ले उनको लागि घर बनाइदिएको थियो । उक्त घर २०८१ असोजको बाढी र पहिरो बगाएपछि कान्छी खत्री पुन: घरबारबिहीन भएकी थिइन् ।

एकल महिला एवं जन्मजात शारिरीक रुपमा अपाङ्गता भएकी कान्छीलाई आवासको व्यवस्थापनका लागि समुदाय स्तरमा छलफल भएको थियो । सोही क्रममा शान्ति जनआर्दश सेवा केन्द्रले उनको लागि फेरी पनि घर बनाइदिने भएको छ । केन्द्रले शनिबार सञ्चालन गरेको श्रमदान अन्तरगत कान्छी खत्रीको घरको शिलान्यास भएको छ ।

कान्छीसँगै वडा १२ का १४ परिवारको लागि आवास कार्य सुरु गरिएको छ । आगामी साताबाट आवास निर्माण कार्य तीब्र रुपमा अघि बढाइने परियोजना संयोजक तामाङले जानकारी दिइन् । उनका अनुसार अहिले हामीले एकल महिला, अपाङ्गता भएका व्यक्ति, विपन्न नागरिक, जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकतामा राखेर आवास निर्माण कार्य गरिरहेका छौं । यस कार्य सम्पन्न भएपछि यहाँको आवश्यकतालाई मध्यनजर गरेर आवास निर्माण कार्यलाई विस्तार गर्ने योजना बनाएको उनले बताइन् ।

शनिबारबाट सुरु गरिएको निर्माण कार्यमा स्वयंमसेवक रुपमा सहभागी भएको काभ्रे इङ्गलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक बसन्तराज नेपालले बताए । पनौती १२ का वडाध्यक्ष जयराम केसीले यस प्रकारको कार्यलाई निरन्तरता दिँदै थप विस्तार गर्न उनले आग्रह गरे । 

पनौती १२ मा मात्रै नभएर सोही परियोजना अन्तरगत पाँचखाल नगरपालिकामा पनि सञ्चालन गरिएको शान्ति जनआर्दश सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाले बताए । उनका अनुसार पाँचखाल ८ मा ४ वटा र वडा ९ मा १ वटा सिमेन्ट ब्याम्बो फ्रेम टेक्नोलोजीबाट घर निर्माण कार्य अघि सारिएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully