लदाख विश्वविद्यालयका उपकुलपति शाकेत कुशवाहको प्रमुख आतिथ्यमा सम्पन्न कृषि विश्वविद्यालयको दीक्षान्तमा २ हजार १९३ विद्यार्थी दीक्षित भए ।
What you should know
चितवन — कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोह शनिबार सम्पन्न भएको छ । लद्दाख विश्वविद्यालयका उपकुलपति शाकेत कुशवाहको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको हो ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रहेको तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थान केन्द्रीय क्याम्पसमा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएको १६ वर्ष पुगेको छ । कृषि विश्वविद्यालयलाई त्रिभुवन विश्वविद्यालयले अझै जग्गा हस्तान्तरण गरेको छैन । दीक्षान्त समारोहमा पनि यो विषय उठ्यो ।
विश्वविद्यालयका सहकुलपति रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्तब्यको क्रममा सम्पत्ति हस्तान्तरणको प्रक्रिया अगाडि बढेको जानकारी दिए । ‘यसका लागि अन्य विश्वविद्यालयसँग सहकार्य र समन्वय भइरहेको छ,’ मन्त्री पोखरेलले भने ।
विश्वविद्यालयका रजिष्ट्रार डा.सुबिर सिंहले पाँचौं दिक्षान्त समारोहमा कृषि, पशुविज्ञान तथा वन विज्ञानमा गरेर स्नातक, स्नातकोत्तर र विद्यावारिधी (पिएचडी)का २ हजार १९३ जना दिक्षित भएको जानकारी दिए । सबै संकाय र कार्यक्रम गरी १ हजार ८३६ जनाले स्नातक, ३२७ ले स्नातकोत्तर र ३० जनाले पिएचडी उपाधि प्राप्त गरेको रजिष्ट्रार डा.सुबिर सिंहले बताए ।
रामपुरमा २०६७ असार ३ मा कृषि विश्वविद्यालय खुलेको हो । त्यसयता हालसम्म ५ हजार ९०६ जनाले स्नातक, स्नातकोत्तर र पिएचडी उत्तीर्ण गरेका छन् । सबै संकाय र कार्यक्रममा गरी हालसम्म कुल ४ हजार ४०८ जनाले स्नातक, १ हजार ४२६ जनाले स्नातकोत्तर र ७२ जनाले पिएचडी गरेको रजिष्ट्रार सिंहले जानकारी दिए ।
सहकुलपति रहेका शिक्षामन्त्री पोखरेलले देशको आर्थिक रुपान्तरणको नयाँ अध्यायको आधार कृषि भएको र यसका लागि दक्ष जनशक्ति आवश्यक पर्ने बताए । उनले अवसर सिर्जना गर्न र अनुसन्धानमा जुुट्न विद्यार्थीलाई अनुरोध गरे ।
त्यसैगरी २०८१ र २०८२ को दीक्षान्त पदक पनि वितरण गरियो । २०८१ मा स्नातकोत्तर तह तर्फ पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायबाट मनिता पौडेलले विश्वविद्यालय सर्वप्रथम भइ कुलपति पदक प्राप्त गरिन् । २०८२ मा स्नातकोत्तर तर्फ पशु विज्ञान संकायकै कमल बस्याल विश्वविद्यालय सर्वप्रथम भइ कुलपति पदक प्राप्त गरे ।
त्यसै गरी स्नातकमा २०८१ मा वन विज्ञान संकायकी पूजा तिमिल्सिना विश्वविद्यालय प्रथम भइ कुलपति पदक प्राप्त गरिन् । २०८२ सालमा पशु विज्ञान संकायबाट दिवश ढुङ्गानाले विश्वविद्यालय प्रथम भइ कुलपति पदक प्राप्त गरे । संकाय प्रथम हुने विद्यार्थीलाई उपकुलपति पदक प्रदान गरिएको छ ।
