त्रिपुरासुन्दरीमा गाउँपालिकाबाटै कर सेवा

त्रिपुरासुन्दरी गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय काभ्रेसँगको समझदारीपछि अब स्थायी लेखा नम्बर, कर चुक्ता जस्ता सेवा गाउँमै उपलब्ध गराउनेछ।

असार ४, २०८३

अनिश तिवारी

Tax service from the rural municipality in Tripura Sundari

सिन्धुपाल्चोक — अब त्रिपुरासुन्दरी गाउँपालिकाबाट करसम्बन्धी सेवा लिन अब धुलिखेल पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। 

गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय काभ्रेसँग सेवा प्रवाह विकेन्द्रीकरणसम्बन्धी समझदारी गर्दै स्थानीय तहबाटै कर सेवा उपलब्ध गराउने व्यवस्था सुरु गरेको हो। बिहीबार दुवै पक्षबीच भएको समझदारी–पत्र (एमओयू) मा हस्ताक्षरसँगै स्थायी लेखा नम्बर (प्यान) दर्ता, कर चुक्ता, करसम्बन्धी सिफारिसलगायतका सेवा गाउँपालिकाबाटै उपलब्ध हुने भएका छन्।

यसबाट सेवाग्राहीको समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ। गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले संघीयताको मर्मअनुसार सेवा नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले सहकार्य अघि बढाइएको बताए। 'अब सामान्य करसम्बन्धी सेवाका लागि धुलिखेल पुग्नुपर्ने अवस्था रहने छैन,'उनले भने, 'यसले नागरिकलाई सहज र छरितो सेवा दिन मद्दत गर्नेछ।'

आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख कर अधिकृत अनमोलकुमार दाहालले सेवा सरलीकरण नीतिअनुसार स्थानीय तहसँगको सहकार्यलाई विस्तार गरिएको बताउँदै यसबाट कर प्रणाली थप पहुँचयोग्य र प्रभावकारी हुने बताए।

प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपालीले सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउँदै नागरिकलाई छिटो र सहज सेवा उपलब्ध गराइने बताए। स्थानीय तहबाटै राजस्वसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था लागू भएसँगै दुर्गम क्षेत्रका सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully