शनिबार धुलिखेल अस्पतालमा पोस्टमार्टमपछि आफन्तले शव बुझेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
What you should know
काभ्रे — काभ्रेको नमोबुद्ध-२ मा शुक्रबार भएको बस दुर्घटनाका शव आफन्तले बुझेका छन् ।
शनिबार धुलिखेल अस्पतालमा पोस्टमार्टमपछि आफन्तले शव बुझेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार पोष्टमार्टमअघि मृतकका प्रतिपरिवार दुर्घटना बिमाबापत ५ लाख रुपैयाँ, पूर्व नेपाल अरनिको यातायात प्रालिबाट राहतस्वरुप १ लाख रुपैयाँ र रोशी गाउँपालिकाले ५० हजार रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउने सहमति भएको थियो ।
दुर्घटनामा अभिभावक गुमाएका बालबालिकालाई पूर्व नेपाल अरनिको यातायातले पढाई खर्च उपलब्ध गराउने सहमति पनि भएको छ ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले पोस्टमार्टमपछि आफन्तले शव बुझेको र दाहसंस्कार प्रक्रियामा गएको बताए । मृतकमध्ये ३ जनाको आजै स्वयम्भूमा दाहसंस्कार गर्न लगिएको लामाले जानकारी दिए ।
शुक्रबार नमोबुद्ध-२ बुचाकोटस्थित सेल्फीडाँडामा बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा आठजनाको ज्यान गएको थियो । मृतकहरुमा काभ्रे रोशी-६ बस्ने वर्ष ७३ वर्षीय मेघबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ, ७५ वर्षीय इन्द्रबहादुर तामाङ, सोही पालिका वडा नम्बर ७ बस्ने ३४ वर्षीया फूलमाया तामाङ, ६० वर्षीया माया तामाङ, वडा नम्बर ८ बस्ने ६० वर्षीया प्यारीमाया तामाङ छन् ।
यस्तै, दैलेख बस्ने ३० वर्षीय बमबहादुर भण्डारी (त्रिनेत्र दल गण भकुण्डेबेंसीमा कार्यरत नेपाली सेनाका अमलदार) र सिन्धुली घ्याङलेख गाउँपालिका ४ बस्ने २२ वर्षीया सुमी तामाङको पनि दुर्घटनामा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।
