नमोबुद्ध बस दुर्घटना : मृतकमध्ये ६ जनाको सनाखत

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार दिउँसो करिब २ बजे भएको बस दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म ६ जनाको सनाखत भएको छ भने दुई जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जेष्ठ ३०, २०८३

ज्योती श्रेष्ठ

Namobuddha bus accident: 6 of the deceased identified

काभ्रे — काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार दिउँसो करिब २ बजे भएको बस दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म ६ जनाको सनाखत भएको छ भने दुई जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार, बनेपाबाट रोशी गाउँपालिका वडा नम्बर  ६ स्थित सुघुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परी मृत्यु हुनेहरुमा रोशी गाउँपालिका–६ का ४५ वर्षीय मेघबहादुर तामाङ, ३४ वर्षीया फुलमाया तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ रहेका छन्। त्यसैगरी रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङको पनि सनाखत भएको उनले बताए ।

उनका अनुसार, दुर्घटनामा परी मृत्यु हुनेमध्ये दैलेख निवासी ३० वर्षीय बमबहादुर भण्डारीको पनि पहिचान भएको छ। उनी भकुण्डेबेँसीस्थित त्रिनेत्र दल गणमा कार्यरत नेपाली सेनाका अमलदार रहेको उनले बताए । सिन्धुलीको घ्याङलेक गाउँपालिका–४ की २२ वर्षीया सुमि तामाङको पनि सनाखत भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको भने हालसम्म सनाखत हुन सकेको छैन। उनीहरू अन्दाजी ६० देखि ६५ वर्ष उमेर समूहका एक पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully