आलु खेतीमा माैसमको मार, उत्पादन आधा घट्ने अनुमान

निरन्तरजसो वर्षा, एक्कासी तापक्रम बढ्नु र डडुवा रोगका कारण दोलखा, सिन्धुपाल्चोक र रामेछापका हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादन ४०–५० प्रतिशत घट्ने प्राविधिकहरुको अनु्मान छ ।

जेष्ठ २८, २०८३

केदार शिवाकोटी

Weather affects potato farming, production expected to halve

What you should know

दोलखा — बारीमा रापेको आलु फुल्नुको सट्टा बोट सुक्न थालेपछि शैलुङ गाउँपालिका–६ पदमकुमारी श्रेष्ठमा चिन्ता बढ्दो छ । मुख्य आम्दानीको स्रोत आलु हो । यो वर्ष मौसमी चक्रको फेरबदलले उनको बारीका आलुका बोट मरेका छन् । 

पुस–माघमा रोपेर बर्खामा खन्ने आलु जिल्लाको लेकाली भेगका किसानको मुख्य नगदेबाली हो । तर यो वर्ष जिल्लाभरी आलुखेती गरेका किसान चिन्तामा छन् । रोप्ने बेलामा हिउँ परेन । मुना पलाउने बेलामा असिनापानीले नष्ट गर्‍यो । बल्लतल्ल उठेको आलु निरन्तरको वर्षाले दाना लाग्ने बेलामा मरे । दिनभरीको चर्कोघाम र साँझ परेपछि निरन्तर वर्षा जसका कारण आलु हुर्कन नपाई मरेको श्रेष्ठले बताइन् ।

गएको वर्ष ४ लाखको आलु बेचेकी उनी यो वर्ष मुस्किलले आधा हुने आशमा छिन् । ‘असिनाले आलुमा खासै क्षति भएको थिएन,’ उनले भनिन्, ‘तर पानी औधी पर्दा बोट धमाधम मर्न थाले, के रोग लागेको हो पत्तो भएन ।’ आलु रोप्दा लागेको खर्च पनि नउठ्ने चिन्ता भइरहेको उनले सुनाइन् । उनले भनिन्, ‘सबैको बारीमा बोट सुकिरहेका छन्, लागेका दाना पनि सानासाना छन् ।’ आलुका दाना पनि मसिना भएकाले बिक्रि नहुने चिन्ता भइरहेको उनले बताइन् । ‘आलु लगाउँदा लागेको खर्च उठे हुन्थ्यो,’ उनले भनिन्, ‘तर रोप्दाको खर्च पनि उठ्दैन जस्तो छ, त्यसमाथि आलुका दाना पनि मसिना छन् ।’

जिल्लाको ३ हजार ७ सय हेक्टरको हिमाली र उच्च पहाडी भेगमा हिउँदमा रोपेको आलु असार पहिलो साताबाट खन्न शुरु हुन्छ । जिल्लाका नौ वटै स्थानीय तहको माथिल्लो भेगका किसानको आम्दानीको मुख्य स्रोत आलु खेती हो । शैलुङ– ६ की ७७ वर्षीया बालकुमारी श्रेष्ठले फूल्ने बेला यसरी आलुका बोट सुकेको अघिअघि नदेखेको बताइन् । 

शैलुङको ७ सय ५०  हेक्टरमा आलु खेती हुँदै आएको छ । गत वर्ष शैलुङबाट ३८ हजार मेट्रिक टन आलु निर्यात हुँदा ४० बरोड बराबरको कारोबार भएको तथ्यांक छ । जिल्लाका सबै स्थानीय तहबाट ८५ हजार मेट्रिक टन आलु उत्पादन भएर निर्यात भएको कृषि ज्ञान केन्द्र रामेछापको तथ्या‌ंक छ ।

गत वर्ष जिल्लाभर किसानले ८२ करोड बराबरको आलु बेचेका थिए । यो वर्ष मौषमी चक्रले आलु खेतीलाई प्रभावित बनाएको छ । फागुनयता निरन्तरजसो वर्षा, मुना पलाउने बेलामा परेको असिनाले जिल्लाभर आलु खेतीमा हृास हुने किसानहरुको अनुमान छ । 

जिल्लास्थित देशकै एक मात्र आलुबाली विकास केन्द्रका बाली संरक्षक अधिकृत राजन धमनियाले गरेको अध्ययन अनुसार निरन्तर वर्षाले आलुखेतीमा असर गरेको छ । ‘किसानले लगाएको आलुखेतीमा भएको क्षति यो वर्ष निरन्तर वर्षा र अत्यधिक तापक्रम मुख्य कारण हो,’ उनले भने, ‘वर्षा र तापक्रम मिल्दो जुल्दो नभएपछि आलुखेतीमा व्यापक रुपमा डडुवा रोग देखा परेको छ ।’ डडुवाले बोट मासेपछि उत्पादनमा हृास आउने उनले बताए।

डुडुवाको प्रकोपले हिमाली र उच्च पहाडी क्षेत्रमा ४० देखि ५० प्रतिशतले आलु उत्पादनमा हृास आउने प्रक्षेपण भएको उनले बताए । ‘किसानले लगाएको आलुको बीउ वा माटोमा समस्य होइन,’ उनले भने, ‘यो वर्ष मौषमी चक्रकै कारण हो, जसका कारण आलुबालीमा डडुवाको प्रकोप छ, यसले उत्पादनमा ठूलो गिरावट आउने देखिएको छ ।’ 

केन्द्रले हिमाली र उच्च पहाही भेगका किसानलाई रोजिटा, खुमल–४ कार्डियललगायतका १० वटा जातका आलु लगाउन सिफारिस गरेको उनले बताए । केन्द्रले १ सय ५० रोपनीमा लगाएको आलुमा पनि यो रोग देखा परेको उनले बताए । ‘डडुवाको उपचारका लागि विषादी प्रयोग गर्नुपर्ने भए पनि हिमाली र उच्च पहाडी क्षेत्रका किसानले आलुमा विषादी प्रयोग गर्दैनन्,’ उनले भने, ‘केन्द्रमा रापेको आलुमा हामीले केही मात्रमा विषादी प्रयोग गरेर जोगाउने प्रयास गरे पनि २० प्रतिशतले उत्पादन हृास आउने देखिएको छ ।’

गत वर्ष देशभर हिमाली र उच्च पहाडी बर्खे आलु १५ लाख ६० हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । तर यो वर्ष दोलखा, सिन्धुपाल्चोक र रामेछापमा ४० देखि ५० प्रतिशतसम्म आलु उत्पादनमा हृास आउने प्रक्षेपण भएको उनले बताए । आलुको मुना पलाउने बेलामा परेको असिनाले खासै क्षति नगरे पनि निरन्तरको वर्षाले आलुलाई क्षति पुर्‍याएको उनले बताए । डडुवाका कारण बोट बारीमै सुकेर मर्ने र जोगिएका बोटबाट पनि फल लाग्ने बेला मसिना दाना मात्रै लाग्ने उनले बताए ।

केदार

Link copied successfully