काभ्रेमा ‘हातेमालो’ अभ्यास : विपद् प्रतिकार्यमा ऐक्यबद्धता

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले काभ्रे जिल्ला विपद्को उच्च जोखिममा रहेको बताए।

जेष्ठ २८, २०८३

ज्योती श्रेष्ठ

'Hand in Hand' Exercise in Kavre: Solidarity in Disaster Response

काभ्रे — काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० स्थित खोपासी जलविद्युत् केन्द्र परिसरमा बिहीबार विपद् उद्धारसम्बन्धी संयुक्त कृत्रिम अभ्यास ‘हातेमालो’ सञ्चालन गरिएको छ । 

कार्यक्रममा आगलागी नियन्त्रण, खोंच तथा डुबानमा फसेका व्यक्तिको उद्धार, सवारी दुर्घटनालगायत विपद्का विभिन्न घटनाको कृत्रिम अभ्यास प्रदर्शन गरिएको थियो। अभ्यासमा नेपाली सेनाको मेहर गण धुलिखेल, जिल्ला प्रहरी कार्यालय काभ्रे, सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण मुख्यालय पाँचखाल, नेपाल रेडक्रस सोसाइटी काभ्रे तथा एनसीसी आल्मुनाई एसोसिएसन काभ्रेको सहभागिता रहेको थियो। 

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा पनौती नगरपालिकाको व्यवस्थापकीय सहयोगमा विपद् उद्धार अभ्यास भएको हो । कार्यक्रममा सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले काभ्रेले लगातार दुई वर्षदेखि विपद्को सामना गरिरहेकाले पूर्वतयारी र कृत्रिम अभ्यासजस्ता कार्यक्रमको आवश्यकता अझ बढेको बताए । यस्ता अभ्यासले विपद्को समयमा आफू मात्र होइन, अरूलाई समेत सुरक्षित राख्न सकिने सन्देश प्रवाह गर्ने उनको विश्वास छ ।

'Hand in Hand' Exercise in Kavre: Solidarity in Disaster Response

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले २०८१ सालको विपद्ले पनौतीमा ठूलो जनधनको क्षति पुर्‍याएको स्मरण गर्दै त्यसबाट विकास निर्माणका कामसमेत प्रभावित भएको बताए । उनले विपद्को समयमा सबै निकायबीचको समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । 

त्यसैगरी, जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले काभ्रे जिल्ला विपद्को उच्च जोखिममा रहेको बताए। विपद् जुनसुकै बेला आउन सक्ने भएकाले नागरिक सचेत र तयारी अवस्थामा रहन आवश्यक रहेको उनको भनाइ थियो।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully