मकवानपुरका चार गाउँपालिकाका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले तोकिएकासबै खोप पाएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो।
What you should know
हेटौंडा — मकवानपुरका चार गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
बिहीबार मकवानपुरगढी र बागमती गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । बुधबार ईन्द्रसरोवर र भीमफेदी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।
मकवानपुरगढी गाउँपालिकाका जन्मदेखि १५ महिनाका ३६२ र १६ देखि २३ महिनासम्मका २३३ जना बालबालिकाले खोप लगाएका छन् । बागमती गाउँपालिकामा जन्मदेखि १५ महिनासम्मका ३४५ जना र १६ देखि २३ महिनासम्मका २९८ जना बालबालिकाले नियमित खोप पाएका छन् भने छुट भएका १२ जना बालबालिकाले पनि सबै खोप पाएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
गाउँपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले सरकारले तोकेको पूर्ण खोप प्राप्त गरेको पुष्टि भएपछि यो घोषणा गरिएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बासुदेव रिमालका अनुसार विभिन्न चरणको अनुगमन र प्रमाणीकरण प्रक्रिया पूरा गरेर मात्रै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ ।
मकवानपुरका अन्य स्थानीय तहहरू पनि क्रमशः घोषणाको प्रक्रियामा रहेका छन् । हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र थाहा नगरपालिकासहित तीन स्थानीय तह प्रमाणीकरण प्रक्रिया पूरा गरी घोषणाका लागि तयार रहेका छन् । राक्सिराङ, बकैया र कैलाश गाउँपालिकामा प्रमाणीकरणको प्रक्रियामा रहेको जनस्वास्थ्य निरीक्षक रिमालले जानकारी दिए ।
जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार ईन्द्रसरोवर गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका १८२ जना र १६ महिनादेखि २३ महिनासम्मका ९४ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । यसैगरी भीमफेदी गाउँपालिकामा जन्मदेखि १५ महिनासम्मका ३०० जना र १६ देखि २३ महिनासम्मका २२९ जना बालबालिकाले खोप पाएका छन् । भीमफेदीमा यसअघि पूर्ण खोप लगाउन छुट भएका एक जनालाई पनि खोपको दायरामा ल्याइएको छ । यस अवसरमा स्वयमसेविकाहरुलाई सम्मान गरिएको थियो ।
