कार्यालयका अनुसार मंगलबार साँझ सब-इन्जिनियरद्वय सुरेश आले र हबेन्द्र यादव मोटरसाइकलमा साइटतर्फ जाने क्रममा केही दिनअघि गरिएको ढलान क्रस गरेर अघि बढ्ने क्रममा सेट नभएको ढलान माथि मोटर साइकल कुदाएको भन्दै उनीहरुमाथि निर्घात कुटपिट भएको हो ।
What you should know
धादिङ — धादिङमा योजना अनुगमन गर्न गएका सब-इन्जिनियरमाथि निर्घात कुटपिट गरिएको छ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित इजारा खानेपानी आयोजनाको निरीक्षणमा गएका सब-इन्जिनियरहरूमाथि स्थानीय एक व्यक्तिले निर्घात कुटपिट गरेका हुन् ।
कुटपिटबाट खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवन मातहत कार्यरत सब-इन्जिनियर हबेन्द्र यादव गम्भीर घाइते भएका छन् । कार्यालयका अनुसार मंगलबार साँझ सब-इन्जिनियरद्वय सुरेश आले र हबेन्द्र यादव मोटरसाइकलमा साइटतर्फ जाने क्रममा केही दिनअघि गरिएको ढलान क्रस गरेर अघि बढ्ने क्रममा सेट नभएको ढलान माथि मोटर साइकल कुदाएको भन्दै उनीहरुमाथि निर्घात कुटपिट भएको हो ।
ढलान पूर्ण रूपमा सेट भइसकेको र वैकल्पिक बाटो नभएकाले उनीहरू त्यहाँबाट अघि बढेका थिए । तर, बाटो काट्ने वित्तिकै स्थानीय ४० वर्षीय संजिव मल्लले घरबाट निस्केर एक्कासी आक्रमण गरेको पिडितहरुले बताएका छन् ।
हेल्मेट लगाएका कारण चालक सुरेश आलेलाई सामान्य कुटपिट मात्र भएको भए पनि पछाडि सवार हबेन्द्र यादवको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ ।
उनको दाहिने बङ्गाराको हड्डी भाँचिएकाले सदरमुकाम धादिङ बेसीमा सामान्य उपचारपछि थप उपचारका लागि ललितपुरस्थित बीएण्डबी अस्पताल पठाइएको हबेन्द्रका साथी निमेश अधिकारीले जानकारी दिएका छन् । घटनापछि प्रहरीसहितको टोली पुग्दा आरोपी मल्ल सुरुमा घटनास्थलमै थिए । तर, "कपडा फेरेर आउँछु र दुवै पक्ष मिलेर कुरा गरौँ" भन्दै घरभित्र छिरेका उनी फरार भएको बताइएको छ ।
प्रहरीले भने घटनाको खबर पाएलगत्तै घटनास्थलमा पुग्दा दोषी फरार रहेको र उनको खोजी भइरहेको बताएको छ । घटनापछि दोषीमाथि कारबाहीका लागि माग गर्दै खानेपानी तथा ढल व्यवस्था पन कार्यालयले प्रहरीमा उजुरी दिएको छ । कार्यालयको काममा गएका प्राविधिकलाई बिनाकारण निर्घात कुटपिट हुँदा काम गर्ने वातवरणसमेत बिग्रने र कर्मचारीको मनोबल कमजोर हुने भन्दै कडा कारबाहीको माग गरिएको छ ।
