रास्वपाको बागमती प्रदेश अधिवेशन हेटौंडामा सुरु

महामन्त्री बुर्लाकोटीले म‌ंगलबार हेटाैंडामा उद्घाटन गरेको दुई दिने अधिवेशनमा बागमतीका १३ जिल्लाबाट सहभागी १५०० प्रतिनिधिले ६५ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्नेछन्।

जेष्ठ २६, २०८३

प्रताप विष्ट

RSP's Bagmati Province convention begins in Hetauda

हेटौंडा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबारमा मंगलबार आयोजना गरेको अधिवेशनको महामन्त्री कविन्द्र बुर्लाकोटीले गरेका छन् । 

यसअघि सभापति रवि लामिछानेले अधिवेशनको उद्घाटन गर्ने भनिएको थियो । लामिछाने नआउने भएपछि महामन्त्री बुर्लाकोटीले उद्घाटन गरेका हुन् । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले प्रदेश संगठनको नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट छनोट भएका करिब १ हजार ५ सय प्रतिनिधिको सहभागिता रहेको रास्वपाले जनाएको छ । रास्वपा बागमती प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेका अनुसार प्रदेशका १ हजार १२१ वडामध्ये करिब ९ सय वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने ११९ वटै स्थानीय तहमा पार्टीको संगठन विस्तार भइसकेको छ ।

रास्वपाको विधान अनुसार बागमतीमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ । समितिमा सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ भने दुई जना सहमहामन्त्री रहनेछन् । सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान छ । त्यसैगरी कोषाध्यक्ष र प्रवक्तासहित पदाधिकारी चयन गरिनेछ ।

निर्वाचन भएमा दुई चरणमा मतदान हुनेछ । पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरुको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरुमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ ।

रास्वपाले बागमती प्रदेशका १३ मध्ये १२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । सिन्धुपाल्चोकको अधिवेशन स्थगित भएको छ । जिल्ला अधिवेशनबाट छनोट भएका प्रतिनिधिले प्रदेश नेतृत्व चयनमा मतदान गर्नेछन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully