मकवानपुर प्रहरीले समात्याे ११ महिनामा १९८ फरार अपराधी

३ करोड १८ लाख रुपैयाँ जरिवाना र ९३ वर्ष दुई महिना कैद असुली

जेष्ठ २६, २०८३

प्रताप विष्ट

Makawanpur police arrest 198 absconding criminals in 11 months

काठमाडौँ — जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध मुद्दामा अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकिएका तर फरार दुई जनालाई सोमबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार पक्राउ पर्नेमा लागूऔषध मुद्दामा दोषी ठहर हेटौंडा उपमहानगरपालिका–१ का ३८ वर्षीय गौतम गुभाजु रहेका छन् । उनलाई अदालतले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

यसैगरी लागुऔषध खैरो हेरोइन मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका हेटौंडा उपमहानगरपालिका–१० की २५ वर्षीया रिजुकुमारी दाहाललाई पनि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालतमा उपस्थित गराई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रवक्ता काफ्लेले बताए । दुवै जनालाई गाउमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । 

मकवानपुर प्रहरीले अदालतको फैसलालाई कार्यान्वयन गर्ने उद्देश्यका साथ अदालतद्वारा दोषी ठहर भएर कैद र जरिवाना तोकिएका फरार प्रतिवादीहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।

यसैक्रममा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको २५ जेठसम्म १ सय ९८ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुबाट ९३ वर्ष २ महिना २३ दिन कैद र ३ करोड १८ लाख ५७ हजार ४ सय १५ रुपैयाँ जरिवाना असुली गरिएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully