हेटौंडा अस्पताल परिसरमा उत्पन्न हुने तरल तथा रसायनजन्य फोहोरलाई सुद्धीकरण गर्न २ करोड ५० लाख रुपैयाँ लागतमा अत्याधुनिक प्लान्ट निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
हेटौंडा — हेटौंडा अस्पतालबाट निस्कने तरल फोहोर व्यवस्थापनका लागि ‘लिक्विड बेस्ट ट्रिटमेन्ट प्लान्ट’ निर्माण गर्ने भएको छ ।
अस्पताल परिसरभित्र उत्पन्न हुने तरल तथा रसायनजन्य फोहोरको व्यवस्थापनका लागि उक्त प्लान्ट निर्माण गर्न लागेको हो । आउँदो असारभित्र उक्त प्लान्ट निर्माण गरेर संचालनमा ल्याइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।
यसअघि अस्पताल परिसरमा सृजित हुने तरल तथा रसायनजन्य फोहोरलाई जम्मा गर्दै आएपनि व्यवस्थापन प्रणालीको अभावमा दिगो व्यवस्थापन हुन सकेको थिएन । अस्पतालले गत असोजमा तरल फोहोरको प्रशोधन गरी शुद्ध र रसायनरहित पानी बनाउने उद्देश्यले एक अत्याधुनिक प्लान्ट निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । हाल उक्त प्लान्टको काम भइरहेको अस्पतालले जनाएको छ ।
प्लान्ट निर्माणका लागि आवश्यक कन्टेनर खरिद गरी जडानका गर्ने कार्य अगाडि बढिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सापकोटाले बताए । फोहोर प्रशोधन केन्द्र निर्माणका लागि गत असोजमै टेन्डरमार्फत २ करोड ५० लाख रुपैयाँको काम सुरु गरिएको थियो ।
प्लान्टका मेसिन तथा उपकरण खरिद तथा जडान गरी आगामी असारसम्ममा प्लान्ट प्रयोगमा आउने अस्पतालले दाबी गरेको छ । प्लान्टले प्रतिघन्टा १० हजार लिटर फोहोर पानी वा रसायनजन्य तरल फोहोरमैला प्रशोधन गरी सामान्य पानी निकाल्ने छ ।
यसअघि अस्पतालले ठोस फोहोरमैलाको व्यवस्थापन गरे पनि रसायनजन्य तथा तरल फोहोरमैला व्यवस्थापन गर्न सकेको थिएन । प्रशोधनपछि निस्कने पानीमा कुनै पनि खतरा नरहने तवरले काम गरिने डा सापकोटाको दाबी छ ।
