हेलम्बु कार्यपालिकाको बैठक ४ हजार २ सय मिटरको उचाइमा

गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार बैठकमा आन्तरिक पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमनदी तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षण र दिगो विकासका विषयमा केन्द्रित भएर छलफल भएको थियो।

जेष्ठ २५, २०८३

अनिश तिवारी

Helambu Executive Council meeting held at an altitude of 4,200 meters

What you should know

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिकाले समुद्री सतहदेखि करिब ४ हजार २ सय मिटर उचाइमा रहेको प्रसिद्ध  धार्मिक तथा पर्यटकीय गन्तव्य छ्याती घाङमा आइतबार गाउँ कार्यपालिकाको बैठक सम्पन्न गरेको छ।

हिमाली क्षेत्रमाथि बढ्दो जलवायु संकट र यसको प्रभावबारे सन्देश दिन उच्च स्थानको तीर्थ स्थानमा बैठक आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। हेलम्बुको इचोक, ठाडेपाटी हुँदै आइतबार  छ्याती  घाङबाट बैठक तथा छलफल सकेर जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीसहित अन्य  अगुवा स्थानीय सोमबार बल्ल तल फर्किएका छन् ।

गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार बैठकमा आन्तरिक पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमनदी तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षण र दिगो विकासका विषयमा केन्द्रित भएर छलफल भएको थियो। बैठकले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन विकासका लागि विभिन्न नीतिगत निर्णयसमेत गरेको उनले बताए।

'हिमाली क्षेत्र जलवायु परिवर्तनको प्रत्यक्ष मारमा छ। यसबारे स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा ध्यानाकर्षण गराउने उद्देश्यले छ्याती घाङमा बैठक आयोजना गरेका हौं,' अध्यक्ष शेर्पाले भने। 

कार्यपालिकाले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको छ्याती घाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै हिमाली क्षेत्रको संरक्षण, पूर्वाधार विकास र पर्यटकीय गतिविधिबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएको छ।

हेलम्बु गाउँपालिका पछिल्ला वर्षमा जलवायु परिवर्तनका असरबारे मुखर बन्दै आएको छ। मेलम्ची खोलाको मुहान क्षेत्र भेमाथाङ र आसपासका हिमाली भेगमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम तीव्र हुनु, पानीका मुहान सुक्नु तथा जैविक विविधतामा असर देखिन थालेको गाउँपालिकाको भनाइ छ। अध्यक्ष शेर्पाले दोस्रो कार्यकालदेखि 'जलवायुमा न्याय देऊ’ अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै विकसित राष्ट्रहरूको उच्च कार्बन उत्सर्जनका कारण हिमाली समुदायले असमान रूपमा क्षति बेहोर्नुपरेको बताए। 'हामीले भोगिरहेको बाढी, हिमनदी क्षय र वातावरणीय संकटका विषयमा तथ्यसहित सरकार र अन्तर्राष्ट्रिय फोरममा आवाज उठाउने तयारी गरेका छौं,' उनले भने। 

गाउँपालिकाका अनुसार जलवायु परिवर्तनका कारण हेलम्बुका हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम बढेको, स्याउ खेती प्रभावित भएको, याक तथा अन्य हिमाली वन्यजन्तुको बासस्थान संकटमा परेको र पानीका स्रोतहरू सुक्दै गएका छन्।गाउँपालिकाले प्राकृतिक सम्पदा, धार्मिक महत्त्व र हिमाली वातावरणको संरक्षण गर्दै समृद्ध हेलम्बु निर्माणका लागि यस्ता गतिविधिले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेको छ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully