१५ वर्ष पुरानो खरको छानो भएको घरमा बस्दै आएका धनसिंह र ठूलीमाया चेपाङलाई जस्ता र प्लाइको छाना भएको नयाँ घरमा सर्न पाएपछि राहत भएको छ ।
What you should know
चितवन — आउँदो बर्खामा घर चुहिने पिरलोमा रहेका राप्ती नगरपालिका-१३ लोथरको माथिल्लो कान्दाका धनसिंह र ठूलीमाया चेपाङ ढुक्क भएका छन् । उनीहरू शनिबारदेखि जस्ताको छानो र बलियो बारबेर भएको घरमा सरे ।
चेपाङ दम्पतीको १५ वर्षअघि बनेको पुरानो खरले छाएको घर थियो । ७० वर्षका धनसिंह र उस्तै उमेरकी ठूलीमाया खर काट्न जंगल जान नसक्ने भएका थिए । घर रूग्ण हुँदै गएको थियो । दुईवटा टेको लगाएर धानेको घरको मक्किएको खरको छानोले यो बर्खामा भर नदिने पक्का थियो ।
छानोले पानी नछेक्ने धनसिंह र ठूलीमायाले खानेपानीका लागि उस्तै कष्ट खेपेका थिए । धारा भए पनि पानी नआउँदा धनसिंह र ठूलीमायाले गाईबस्तु चराउन जंगल गएका बेला एक/दुई बोत्तल पानी भरेर ल्याउँथे । धनसिंहको हात राम्रोसँग नचल्ने भएका कारण पानीको जोहो गर्ने जिम्मा ठूलीमायाको थियो ।
उनीहरुका ६ भाइ छोरा हुर्केपछि लाखापाखा लागे । वृद्ध उमेरमा गाउँमा धनसिंह र ठूलीमाया मात्र बसे । उनीहरूको सकसबारे कान्तिपुरमा 'छानोले पानी छेक्दैन, धारामा पानी झर्दैन' समाचार प्रकाशित भए पछि सहयोग जुटेको हो ।
पर्सा खैरहनीका मुरलीप्रसाद गजुरेलले छाउने जस्तापाताको जोहो गरे । कान्दामा समाजिक काम गर्दै आएको संस्था मितेरी फाउण्डेशनका पूर्वअध्यक्षसमेत रहेका रंगकर्मी तथा निर्माता रविन्द्रसिंह बानियाँले 'लाली बजार' चलचित्र निर्माण गर्ने षट्कोण आर्टसका तर्फबाट घर बार्नका लागि पानीले नबिगार्ने बलियो प्लाइउडको प्रबन्ध गरिदिए ।
इँट्टा लैजान सम्भव नभएको, ढुंगा बोकेर गारो लगाउने काम पनि सहज नभएका कारण विकल्पमा प्लाई रोज्नु परेको थियो । प्लाई अरूभन्दा हल्का भए पनि भण्डाराबाट कान्दा पुर्याउन अफ्ठ्यारै थियो ।
राप्ती नगरपालिका-१३ मा पर्ने धनसिंहको गाउँ लोथरको माथिल्लो कान्दा पुग्न सजिलो छैन । थोरै सजिलो र धेरै कठिन पहाडी कच्ची बाटो पार गर्दै लगभग तीन घण्टामा जस्ता र प्लाइ बोकेको पिकअप बोलेरो गाडी ढुंगाबाङ पुगेको थियो । ढुंगाबाङबाट मोटरबाटो सकिन्छ ।
धादिङसँग जोडिएको पहाड र चितवनको अग्लोमध्येको कामिङचुलीको फेदमा छ उनको गाउँ । ढुंगाबाङबाट पैदल जाँदा त्यहाँ पुग्न चार घण्टा लाग्छ । 'लामो, चौडा जस्ता र प्लाइ बोक्न साह्रै सकस भयो, गाउँलेले मिलेर बल्ल ल्याइदिए,' धनसिंहले भने, 'यो घर हामी बाँचुन्जेल केही नहोला, खर काट्ने छाउने झन्झट पनि नहुने भो ।' जस्ता र प्लाई जुटेपछि त्यसलाई बोकेर गाउँसम्म ल्याउने, जंगलबाट काठ ल्याएर खामो र फलेक बनाउन गाउँलेले सहयोग गरे । बाआमा बस्ने घर बन्न लागेको खबरले गाउँभन्दा टाढा रहेका छोराहरूले पनि भरथेग गरे ।
धनसिंहको हात राम्रोसँग नचल्ने हुँदा ठूलीमायाले पुरानो छाप्रोमा भएका सामान धमाधम नयाँ घरमा सार्दै थिइन् । छिमेकी महिलाले उनलाई सघाइरहेका थिए । जंगलबाट खोजेर ल्याएको एक डालो गिट्ठा उनले सुरूमा घरभित्र राखिन् । गिट्ठा चेपाङहरूले खाने मुख्य खाद्य पदार्थका रूपमा परिचित छ । 'पहिला पहिला जंगलबाट ल्याएको यही गिट्ठा, भ्याकुर, तरूल जस्ता कन्दमुल र सिस्नो तथा टाँकीको सागको भरमा छाक टार्नु पर्थ्यो । खास गरेर चैत लागेपछि अरू अन्न सकिएर अनिकाल लागे जस्तो हुन्थ्यो । अहिले त जंगल गएर गिट्ठा भयाकुर ल्याएर नै छाक टार्नु पर्छ भन्ने छैन,' धनसिंहले भने ।
बस्ने भरपर्दो घर बने पनि खानेपानीको दु:ख कायमै छ । यसले धनसिंह दम्पतL मात्र हैन त्यहाँ बस्ने ६/७ घर चेपाङ परिवारलाई गाह्रो भएको छ । 'धनसिंह काकाको घर बन्यो राम्रो भयो । गाउँमा खानेपानीको राम्रो प्रबन्ध भए उत्तम हुन्थ्यो,' स्थानीय बुद्धिबहादुर चेपाङले भने ।
