प्लाष्टिकका बोतल दिएर फलफूलका बेर्ना !

हेटौडा उपमहानगरका ६ र १८ नम्बर वडाले १० वटा प्लास्टिकका बोतल बराबर १ वटा फलफूलको बेर्ना दिने गरी ४ सय बिरुवा वितरण गरेका हुन् ।

जेष्ठ २१, २०८३

प्रताप विष्ट

Fruit baskets made from plastic bottles!

हेटौडा — हेटौडामा प्लाष्टिकका खाली, पुराना बोतल दिनेलाई फलफूलका बेर्ना दिने अभियान चलाईएको छ । विश्व वातावरण दिवसको अवसर पारेर हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा यहाँका ६ र १८ नम्बर वडाले बोतल लिएर बेर्ना दिने अभियान चलाएको हो ।

कार्यक्रमअन्तर्गत १० वटा प्लास्टिकका बोतल बराबर १ वटा फलफूलको बेर्ना दिने व्यवस्था मिलाइएको थियो । उक्त अभियान अन्तर्गत दुवै वडाबाट ४ सय भन्दा बढी उन्नत जातका फलफूलका बेर्ना वितरण गरिएको थियो । 

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा घरघरमा फलफूल उत्पादनको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । नगरलाई हराभरा र वातावरणमैत्री बनाउन सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।

वडा नं. १८ का अध्यक्ष अनिलकुमार बानियाले यस्ता अभियानले वातावरण संरक्षणसँगै स्थानीय स्तरमा फलफूल उत्पादन बढाउन महत्वपूर्ण योगदान पुग्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । 

स्थानीयले यस्ता अभियानले वातावरण संरक्षणप्रति नागरिकको चासो बढाउनुका साथै वृक्षारोपणलाई प्रभावकारी बनाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा लिची, आप, अम्बा, एभोकाडो, कागतीलगायत उन्नत जातका फलफूलका बिरुवा वितरण गरिएको थियो । 

आयोजकका अनुसार विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नगरका ६ स्थानमा यस्ता कार्यक्रम सञ्चालन गरिनेछ भने अभियानमार्फत १ हजारभन्दा बढी बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully