लुम्बिनीमा एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर लुम्बिनी प्रदेश बाहिर रहेकाले नयाँ मन्त्रीहरुको शपथग्रहण जेठ २५ गते सोमबार हुने भएको छ ।

जेष्ठ २०, २०८३

घनश्याम गौतम

Four UML and one JSP minister appointed in Lumbini

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बुधबार एमालेका चार मन्त्रीले राजीनामा दिएपछि उनले एमालेकै कोटाका चार मन्त्री नियुक्त गरेका हुन् । 

मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्रीलाई समावेश गरिएको छ । एमालेबाट चार जना र जसपाबाट एक जना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको हो ।

पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट रूपन्देहीका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घाखॅाचीका रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, बाँकेका रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गुल्मीका डिल्लीराज भुसाललाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । यसअघि आन्तरिक मामिला तथा योजनामन्त्रीमा जसपाकै आदेशकुमार अग्रवाल थिए । अग्रवालको कार्यसम्पादनमा सन्तुष्ट नरहेका मुख्यमन्त्रीले उनलाई हटाएर अहिरलाई मन्त्री नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर लुम्बिनी प्रदेश बाहिर रहेकाले नयाँ मन्त्रीहरुको शपथग्रहण जेठ २५ गते सोमबार हुने भएको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully