रूपलाल विश्वकर्माको नेतृत्वमा चितवनको जुगेडीमा आदिवासी चेपाङहरूको नेतृत्वमा 'साहु महाजन'विरुद्ध संघर्ष भएको थियो । २०३४ असार ६ गते भएको उक्त संघर्षमा प्रहरी कारबाहीमा मारिएका दुई जना चेपाङलाई सरकारले सहिद घोषणा गरेको छ ।
What you should know
चितवन — पुराना राजनीतिक व्यक्तित्व रूपलाल विश्वकर्माको स्मृतिमा मंगलबार भरतपुरमा कार्यक्रम सम्पन्न भएको छ ।वामपन्थी राजनीतिमा सक्रिय भए पनि पछिल्लो समय विश्वकर्माले फरक विचार अँगालेका थिए । राजदरबार हत्याकाण्ड भएको दिन २०५८ जेठ १९ मा विश्वकर्माको निधन भएको थियो । चितवनबाट राजनीति सुरू गरेर केन्द्रीय नेतृत्वसम्म पुगेका रूपलाल स्थानीय मुद्दाहरूमा स्थानीयलाई नै अग्रसर गराएर संघर्ष उठाउने नेताका रूपमा परिचित छन् ।
रूपलाल विश्वकर्मा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा टुलक विश्वकर्माले रूपलालको जीवनी सुनाएका थिए । १९९७ वैशाख १० मा पर्वतमा जन्मेका रूपलाल २०१६ सालमा बसाइँ सरेर चितवन आएका थिए । चितवनमा २०१८ सालमा उनले कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । पुष्पलाल समूहको कम्युनिष्ट घटकमा रहेका बेला २०२८ सालमा नै रूपलालले पुष्पकमल दाहाललाई कम्युनिष्ट पार्टीको सदस्यता दिएका थिए ।
रूपलालको नेतृत्वमा चितवन जुगेडीमा आदिवासी चेपाङहरूको नेतृत्वमा 'साहु महाजन'विरुद्ध संघर्ष भएको थियो । २०३४ असार ६ गते भएको उक्त संघर्षमा प्रहरी कारबाहीमा मारिएका दुई जना चेपाङलाई सरकारले सहिद घोषणा गरेको छ । जुगेडीपछि रूपलाले चितवनकै जुटपानीमा पनि राजनीतिक संघर्ष गरेका थिए ।
रूपलालको पार्टी सर्वहारावादी श्रमिक संगठनले देशमा कम्युनिष्ट शासन प्रणाली 'नौलो जनवादी व्यवस्था' ल्याउन सशस्त्र संघर्ष गर्ने र संघर्षका लागि सेना तयार गर्ने निर्णय गरेको थियो । त्यसका लागि आर्थिक स्रोत जुटाउन २०४१ सालको असार मसान्तमा गुल्मीको पूर्तिघाटमा रहेको बैंकका सुरक्षाकर्मी र कर्मचारीलाई नियन्त्रणमा लिएर त्यहाँ रहेको नगद र गहना कब्जामा लिएका थिए । जसलाई रूपलालका अनुयायीहरू 'पूर्तिघाट मनी एक्सन' भन्छन् । यो 'एक्सन'ले रााष्ट्रिय राजनीति नै तरङ्गित भएको थियो ।
२०४७ सालमा पुष्पकमल दाहाल, निर्म्मल लामा, रूपलाल विश्वकर्मा लगायतका नेताहरूले आफ्नो नेतृत्वमा रहेका विभिन्न कम्युनिष्ट पार्टीबीच एकीकरण गरे । जसको नाम नेकपा (एकताकेन्द्र) रह्यो । यो पार्टीमा पनि पछि फुट आएर पुष्पकमल दाहालले नेेकपा (माओवादी) गठन गरेका थिए ।
रूपलाल पनि एकताकेन्द्रमा बसेनन् । न दाहालसँग गए ।२०५३ सालको जेठ १५ मा एकताकेन्द्रबाट अलग भएको घोषणा गरे । 'उहाँले कम्युनिष्टहरूले अपनाउने लेलिनवादी संगठन पद्धतिप्रति नै असहमति राख्नु भयो । पार्टीमा अल्पमत पक्ष बहुमतको अधिनस्त हुन्छ भन्ने सिद्धान्त ठिक होइन भन्नू भयो,' रूपलाल विश्वकर्मा प्रतिष्ठानका अध्यक्ष अमर विश्वकर्माले भने । रूपलालले 'विपरीतहरूको समरूपता' भन्ने विचार प्रतिपादन गरेको उनले बताए ।अमर विश्वकर्मा २०३३ सालदेखि रूपलालको राजनीतिक अभियानमा सरिक भएर हाल पनि रूपलालका विचार र योगदानको प्रचार प्रसारमा सक्रिय छन् ।
'विपरीत विचारहरूबीचमा आवश्यकताअनुसार एकता र आवश्यकता नहुँदा छुट्टिने हुन्छ । यो उहाँको दर्शन हो,' अमरले भने । स्वर्गीय रूपलालका भाइ टेकलाल विश्वकर्माको सभापतित्वमा भएको कमर्यक्रमका प्रमुख अतिथि रूपलालका पुराना राजनीतिक सहकर्मी माडीका गोपीनाथ विश्वकर्मा रहेका थिए ।
