७ वर्षमा सीमान्तकृत समुदायलाई ७०० आवास भवन हस्तान्तरण

मनहरी गाउँपालिका मुसेधापमा रहेका लोपोन्मुख वनकरिया समुदाय भने जनता आवास कार्यक्रमवाट वन्चित रहँदै आएका छन् । आफ्नो स्वामित्वमा एक धुर जमिन समेत नभएका कारण उनीहरू यो सुविधाबाट बन्चित रहँदै आएका छन् ।

जेष्ठ १०, २०८३

प्रताप विष्ट

700 housing buildings handed over to marginalized communities in 7 years

What you should know

हेटौँडा — बागमती प्रदेश सरकारले ७ वर्षयता मकवानपुर र चितवनका सीमान्तकृत चेपाङ, माझी र बोटे समुदायलाई ७०० भन्दाबढी घर बनाएर हस्तान्तरण गरिसकेको छ । 

जनता आवास कार्यक्रमअन्तर्गत आव ०७५/०७६ देखि हालसम्म मकवानपुर र चितवनका चेपाङ, माझी र बोटे समुदायलाई ७०७ वटा भवन हस्तान्तरण भइसकेको छ । ९०९ घरपरिवारसँग घर निर्माणका लागि  सम्झौता कार्यान्वयनको चरण अगाडि बढिसकेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख सीनियर डिभिजन ईन्जिनियर भुपेन्द्र यादवले बताए । जसमध्ये ८८४ परिवारले पहिलो र दोस्रो किस्ता, ८७० घरपरिवारले रकम बुझेर आवास भवन निर्माण गरिरहेका छन् । भवन निर्माण सम्पन्न भएपछि तेस्रो अर्थात अन्तिम किस्ता रकम दिने गरिएको  छ ।

स्थानीय सरकार अर्थात पालिकाको सिफारिस र छनोटलाई मूल आधार बनाएर प्रदेश सरकारले आवास गृह निर्माण प्रक्रिया अघि बढाउने गर्छ । आवास निर्माणमा हालसम्म ३८ करोड ४३ लाख रुपैयाँ खर्च गरिसकेको प्रदेश सरकारले प्रतिघर परिवार ४ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । घरप्रतिको अपनत्व जागृत गराउन लाभग्राहीले श्रमदान लागतको १० प्रतिशत श्रमदान गर्नु जनता आवास कार्यक्रमको कार्यविधिमा व्यवस्था गरिएको छ । 

प्रदेश सरकारले सीमान्तकृत चेपाङ, वनकरिया, माझी, बोटेलगायत एकल महिलाका लागि आवास गृह निर्माण गर्दै आएको छ । ईन्जिनियर यादवका अनुसार सीमान्तकृत समुदायको अझै पनि शिक्षा, स्वास्थ्यप्रतिको चेतनास्तर कमजोर रहेको र बाल विवाह, कुरीति, अन्धविश्वासमा जकेडिएकाले राज्यको मूल धारमा ल्याउन आवास विकास कार्यक्रम सञ्चालन गरिएको हो । 

ईन्जिनियर यादवका अनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकारले मकवानपुरमा २७९ र चितवनमा २२४ वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण समेत गरिसकेको छ । यसका लागि प्रदेश सरकारले २० करोड १२ लाख रुपैयाँ खर्च गरेको छ भने चालु आर्थिक वर्ष ९४ वटा घर निर्माण भइरहेको छ । थप १०५ घर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

मनहरी गाउँपालिका मुसेधापमा रहेका लोपोन्मुख वनकरिया समुदाय जनता आवास कार्यक्रमवाट वर्षौदेखि वन्चित रहँदै आएका छन् । आफ्नो स्वामित्वमा एक धुर जमिन नभएको र अहिले छाप्रो बनाएर बसिरहेको जमिन पर्सा राष्ट्रिय निकुन्जभित्र पर्छ । 

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाका अनुसार आर्थिक वर्ष २०७५/०७६ पछि संघ सरकारबाट जनता आवास कार्यक्रम प्रदेश सरकारमा हस्तान्तरण भएको हो ।

संघ सरकारबाट प्रदेशमा हस्तान्तरण भएपछि पनि ७०७ वटा आवास गृह निर्माण सम्पन्न गरिसकेको छ भने ‘परम्परागत र अनुत्पादक विकास मोडललाई परिवर्तन गरी एकीकृत बस्ती विकासमा जोड दिनुपर्छ । छरिएका योजना र साना आयोजनामा बजेट खर्चनुभन्दा रणनीतिक महत्वका क्षेत्रमा लगानी बढाउनु अहिलेको आवश्यकता हो,’ मन्त्री देवकोटाले भने ।

बागमती प्रदेश सरकारले चितवनको माडीमा बसोबास गर्ने चेपाङ समुदायका ३९ परिवारका लागि पक्की घर निर्माण गरिदिने भएको छ । प्रदेश सरकारले चितवनको माडीमा छरिएर रहेका चेपाङ समुदायलाई एउटै स्थानमा एकीकृत बस्तीको अवधारणा अनुरुप ३९ वटा घर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने तयारी गरेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख ईन्जिनियर यादवले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully