सडक दुर्घटनाबाट घाइते भएर तंग्रिन नसकेका सुनिल यादव यो वर्ष पनि चुरे संरक्षण र नदी प्रदुषण नियन्त्रणको अभियान लिएर मेची महाकाली जनजागरण अभियान चलाइरहेका छन् ।
What you should know
चितवन — बारा सिम्रौनगढका सुनिलकुमार यादवलाई गत मंसिरमा सडक दुर्घटनामा गम्भीर चोट लाग्यो । डेढ महिना अस्पताल बसेका सुनिलले तीन महिना जति पूर्णरुपमा आराम गरे पनि बिना साहारा हिँडडुल गर्न अझै गाह्रो छ।
२०७४ सालदेखि चुरे संरक्षण र नदी प्रदुषण नियन्त्रणको अभियानमा लाग्दै आएका उनी शरीरमा चोट लागे पनि यसलाई बिर्सेका छैनन् । जेठ १ देखि उनकै नेतृत्वमा ‘मेची महाकाली जनजागरण एवं हस्ताक्षर अभियान’ सुरु भएको छ ।
पूर्व मेचीबाट हिँडेको सातौं दिनमा उनको टोली बिहीबार बिहान चितवन भरतपुर चौबिसकोठी आइपुग्यो । त्यहाँ उनीहरुले वनजंगल र चुरेको महत्वबारे बताए । स्थानीयले हस्ताक्षर अभियानमा सहभागी भएर ऐक्यबद्धता गरे । ‘चोकचोकमा हामी आफ्ना कुरा राख्छौं । अनि हस्ताक्षरण बटुल्छौं । महाकाली पुगेपछि काठमाडौं लाग्ने हाम्रो योजना छ,’ सुनिलले भने ।
यसरी संकलन गरेका हस्ताक्षर काठमाडौं गएर मन्त्रीहरुलाई बुझाउने उनले बताए । ‘सुरुमै हाम्रो कुरा सुनेर हस्ताक्षर बुझे भने बुझे नभए माइतीघर मण्डलामा धर्ना सुरु हुन्छ,’ सुनिलले भने । चुरे संरक्षणका लागि गत वर्ष उनीहरु माइतीघरमा ७२ दिन धर्ना बसेका थिए । ‘गत वर्ष धनुषाबाट सुरु गरेर पैदलै चितवन हुँदै काठमाडौं पुगेका थियौं । २५ दिन पैदलयात्रा गर्यौं । ७२ दिन धर्नामा बस्यौं । बल्ल सरकारले बोलाएर चुरे संरक्षणमा हाम्रो माग र योजना प्रस्तुत गर्यौं,’ सुनिलले भने ।
चुरे संरक्षणका लागि केही नीतिनियम बने पनि कार्यान्वयन नहुँदा यो वर्ष फेरि अभियान सुरु गरेको उनले बताए । आफूहरुले जिल्ला जिल्लामा चुरे संरक्षण सम्बन्धित समस्या संकलन गरेको उनले बताए । ‘सरकारले नीतिगत व्यवस्था गरे पनि जिल्ला तहमा कार्यन्वयन नहुँदा समस्या चर्को बनेको छ । झापादेखि कञ्चनपुरसम्म चुरेको अवस्था बुझ्दै हिँडेका छौं । सरकारलाई हामी रिपोर्ट सुनाउन चाहन्छौं,’ सुनिलले भने ।
सुनिलको नेतृत्वमा सिर्सिया नदी संरक्षणका लागि वीरगञ्जदेखि काठमाडौंसम्म ११ दिन पैदल यात्रा भए पनि समस्या निराकरण नभएको उनी बताउँछन् । ‘यो पटक मेरो शारिरीक अवस्था नै नाजुक छ । नदी र चुरे तथा पर्यावरणको समस्या झनै विकराल बन्दै छ । चुप लागेर बस्न मनले दिएन । गर्मीका बेला यो मुद्दा उठाए जनताले बुझ्लान सरकारले कार्यान्वयन गर्ला भन्ने लाग्छ,’ उनले भने ।
उनीहरुको टोलीमा १४ जनामध्ये ४ महिला छन् । ‘मेचीबाट जुटेका हामी महाकाली र काठमाडौंसम्म पुग्ने छौं । वातावरणको अवस्थाका बारेमा सरकारले बुझ्छ या बुझ्दैन, हेरौं’ अभियानमा सहभागी जनकपुरकी राधा चौधरीले भनिन् । राधासहित मरनीदेवी सिंह, रिता मुखिया र फूलकुमारी पनि यो अभियानमा सहभागी छन् । चुरे संरक्षणका लागि आज नउठे, नजागे भोलि तराइ मरभूमि हुने र पानी खान हम्मे पर्ने राधाले बताइन् ।
