कुलवाङका श्यामबहादुर चेपाङले गुमाए पाँच दिनमा सबै तीन सन्तान

गत शुक्रबारदेखि टाउको दुख्ने, वान्ता हुने, पखाला लाग्ने लक्षण देखिएका इच्छाकामना गाउँपालिका–१ कुलबाङका श्यामबहादुर चेपाङले पाँच दिनमा तीन सन्तान गुमाएका छन् ।

जेष्ठ ५, २०८३

रमेशकुमार पौडेल

Shyam Bahadur Chepang of Kulbang lost all three of his children in five days.

What you should know

चितवन — श्यामबहादुर चेपाङका दुई छोरी र एक छोरा गरी तीन सन्तान थिए । गएको शुक्रबारदेखि मंगलबार बिहानसम्म पाँच दिनभित्र उनका सबै सन्तानको निधन भएको छ । चितवनको उत्तरी पहाडी भेग इच्छाकामना गाउँपालिका–१ काउले हात्तीबाङनजिकको कुलबाङ गाउँका श्यामबहादुर र पदमकुमारी चेपाङका सन्तानमध्ये एक जनाको गाउँमै र दुईको भरतपुर अस्पतालमा मृत्यु भएको हो । 

उनीहरुमा बुधबारदेखि टाउको दुख्ने, वान्ता हुने, पखाला लाग्ने लक्षण देखा परेको थियो । मंगलबार साँझ घरका सबै पाँच जना मकैको भात र जंगली टाँकीको साग खाएर सुतेको श्यामबहादुरले बताए । उनीहरुले जंगली च्याउ खाएको हुन सक्ने आशंका स्थानीयदेखि चिकित्सकहरुको छ । श्यामबहादुर तत्काल नभएर बिरामी हुनुभन्दा १० दिनअघि जंगली च्याउ खाएको बताउँछन् । ‘जंगलमा कटुसे च्याउ पाइन्छ । हामीले सधैं खान्छौं । यो वर्ष एक पटक मात्रै निकै थोरै खाएको हो । त्यो पनि बच्चाहरु बिरामी पर्नुभन्दा १० दिनअघि हो,’ श्यामबहादुरले भने । 

भरतपुर अस्पतालका प्रवक्ता डा.रामप्रसाद सापकोटाले जंगली च्याउको विषले गर्ने असर मिल्दोजुल्दो देखिए पनि फरक कुरा आएका कारण थप परीक्षण अनुसन्धान भइरहेको बताए ।

बिरामी परेकीमध्ये कान्छी छोरी ९ वर्षकी नमुना चेपाङको शुक्रबार गाउँमै निधन भएको थियो । जेठी छोरी १३ वर्षकी मनिता चेपाङ र११ वर्षका छोरा साजनलाई स्थानीयले शुक्रबार मध्यान्ह उपचारका लागि भरतपुर अस्पताल ल्याएका थिए । उपचारका क्रममा साजनको शनिबार राति र मनिताको मंगलबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

श्यामबहादुर र उनकी श्रीमती पदमकुमारीको अवस्था सामान्य छ । श्यामबहादुर छोराछोरीको उपचारमा भरतपुर अस्तालमै छन् । पदमकुमारी गाउँमै छिन् । हात्तीबाङबाट सामान ढुवानी गर्ने बोलेरो गाडीमा राखेर स्थानीयले बिरामीलाई उपचारका लागि भरतपुर ल्याएका थिए । उनीहरु हात्तीबाङ बाँसपुर हुँदै शक्तिखोर फिस्लिङ सडकबाट शक्तिखोर झरेर लगभग डेढ घण्टामा भरतपुर आएका थिए । कुलबाङ गाउँ हात्तीबाङबाट हिँडेर जाँदा लगभग डेढ घण्टामा पुगिन्छ ।

चितवनमा जंगली च्याउले परिवार नै गुमाएका घटना अरु पनि छन् । २०६७ जेठमा जंगली च्याउ खाँदा लोथर कान्दाका एकै परिवारका आठ जनाको मृत्यु भएको थियो । त्यसपछि पनि कविलासको चौकीडाँडामा परिवारका पाँच जनाको जंगली च्याउका कारण मृत्यु भएको थियो । च्याउमा ‘अमेनिटा’ नामक विषालु तत्व भए त्यस्तो च्याउ खानेको कलेजो, स्नायु प्रणाली, रगत र मृगौलामा असर गरेर मृत्युसमेत हुने चिकित्सकहरु बताउँछन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully