भाइको जिम्मेवारीले ५ कक्षा दोहोर्‍याउँदै आयुष्मा चेपाङ

चितवनको कमलपुरमा ५ कक्षा पास गरेकी आयुष्मा चेपाङ भाइहरुलाई विद्यालय ल्याउन कक्षा दोहोर्‍याउन बाध्य भएकी छन्, उनी यसपाली फेरि कक्षा ५ मै भर्ना भएकी छिन्।

जेष्ठ २, २०८३

रमेशकुमार पौडेल

Ayushma Chepang is repeating 5th grade due to her brother's responsibility

What you should know

चितवन — तल्लो कक्षा उत्तीर्ण (पास) भएपछि माथिल्लो कक्षामा पढ्न पाइन्छ । तर ५ कक्षा पास गरेकी आयुष्मा चेपाङ फेरि उही कक्षामा पढ्दै छिन् । चितवन भरतपुर महानगरपालिका–२९ को पहाडी गाउँ कमलपुरको राष्ट्रिय आधारभूत विद्यालयमा यो पटक कक्षा ५ मा पढ्ने आयुष्मासहित चार जना विद्यार्थी छन् ।

गएको परीक्षामा ५ कक्षा उत्तीर्ण भए पनि आयुष्मा दोहर्‍याएर सोही कक्षामा पढ्न बसेकी छन् । भाइहरु आयुन र आयुष चेपाङको पढाइका लागि उनी कक्षा दोहोर्‍याउन बाध्य भएकी हुन् । ‘गत शैक्षिक सत्रमा कक्षा ५ मा चार विद्यार्थी थिए । सबै उत्तीर्ण भए पनि आयुष्मालाई साना भाइ स्याहर्ने र पढाउन स्कुल ल्याउने जिम्मेवारी छ,’ विद्यालयका प्रधानअध्यापक बद्रीप्रसाद पौडेलले भने । 

आयुष्माकी आमा अन्तै बिहे गरेर गइन् । बाबु पनि घरमा छैनन् । विद्यालयदेखि केही तल रहेको दुईघरे भन्ने टोलमा उनीहरुको घर छ । घरमा बृद्ध हजुरआमा पनि छन् । ‘बाआमा घरमा नभएपछि आयुष्माले सानैदेखि भाइहरुलाई स्याहार्दै आइन् । घरमा पकाउने खुवाउने पनि बालखैदेखि गरिन् । अहिले उनको सानो भाइ आयुन प्रारम्भिक बाल विकास कक्षा (ईसिडी) र अर्को आयुष कक्षा १ मा पढ्छन् । उनी नभए यी दुई बच्चा सायदै स्कुल आउँथे,’ प्रअ पौडेलले भने । 

जाँदा भिरालो र आउँदा ओराले भएका कारण साना बच्चा आफै विद्यालय आउजाउ गर्न गाह्रो छ । विद्यालय र घरको दुरी लगभग एक घण्टा जति छ । आयुष्मा भाइहरुसहित आउजाउ गर्छिन् । गत वर्ष यसैगरी भाइ आयुषलाई ल्याएर आउँथिन् । यो पटक आयुन पनि थपिए । गत वर्ष कक्षा पाँच उत्तीर्ण गरेका अन्य तीन विद्यार्थी जुगेडी झेरर त्यही बसेर पढ्न थालेका छन् । आयुष्मालाई जुगेडी नै बसेर पढ्न पाउने अवसर पनि थिएन । त्यहाँ उनका कोही अभिभावक वा आफन्त थिएनन् ।

गाउँदेखि केही पर चौकीडाँडामा कक्षा १० सम्म पढाइ हुने विद्यालय छ । तर त्यहाँ जान लगभग दुई घण्टा पैदल जंगलको बाटो हिँड्नु पर्छ । ‘यता गाउँबाट त्यता जाने साथी नभएका कारण आयुष्मालाई चौकीडाँडा पठाउन पनि सकिने अवस्था थिएन,’ प्रअ पौडेलले भने । ५ कक्षा पढेपछि पढाइ नै छाड्नु पर्ने अवस्थामा पुगेकी आयुष्मालाई विद्यालयले दोहर्‍याएर भर्ना गर्‍यो । जसका कारण उनका साना भाइहरुलाई भने विद्यालय आउन सहज भएको छ । ‘परबाट उकालो हिँडेर आउनु पर्ने भएका कारण बिहानको खाना पनि यतै दिन्छौं । उनलाई ल्याउने अरु स्याहार गर्ने सवै आयुष्माले नै हो,’ प्रअ पौडेलले भने ।

आयुष्माकी हजुरआमा फूलमति चेपाङले कान्छो नाति आयुन १५ महिनाको हुँदा बुहारीले छाडेर अन्यत्र बिहे गरेर गएको बताइन् । ‘इन्द्रबहादुर मेरो कान्छो छोरा हो । आयुष्मा, आयुन र आयुष उसैका छोरीछोरा हुन् । बुहारी गइहाल्यो । छोरो पनि घरतिर बस्दै बस्दैन । उता नारायणगढतिर बस्छ रे,’ फूलमतिले भनिन् । 
६६ वर्षकी फूलमतिले घरमा यी तीन नातिनातिनाको रेखदेख गर्दै आएकी छिन् । नारायणगढमा छोराले अर्को बिहे गरेको र वर्षमा एक/दुई पटक घर आउने गरेको उनले बताइन् । ‘घर त कमै आउँछ । छोराछोरीलाई हेर्दै नहेर्ने भन्ने पनि हैन । कहिलेकाँही चामल त पठाउँछ । दुवै नाति साना छन् । भाइहरुका लागि पनि आयुष्माले पाँच कक्षा डब्लायो (दोहर्‍यायो) । नभए उसले ६ मा पढ्ने हो,’ फूलमतिले भनिन् ।

Ayushma Chepang is repeating 5th grade due to her brother's responsibility

आयुष्माकी फुपु इन्द्रकुमारी चेपाङले कहिलेकाँही आफु आएर हेरबिचार गर्दै आएको बताइन् । सानो छोरा आयुन १५ महिना हुँदा आमाले छाडेकी थिइन् । वैशाखमा आयुन ४ वर्षको भए । ‘भाइहरु दिदी नभइ स्कुल आउनै मान्दैनन् । त्यसैले उसलाई फेरि ५ मै भर्ना गरेको हो । ६ पढ्न तल कोठा खोजेर राख्नु पर्छ । त्यसरी राख्न पनि गाह्रो छ । बाउले पनि अर्को श्रीमती ल्याएका कारण उतै बढी ख्याल राख्छ । आयुष्मालाई माथिल्लो कक्षामा पढाउन गाह्रै हुने देख्छु,’ फुपु इन्द्रकुमारीले भनिन् । माथिल्लो कक्षामा पढ्ने रहर भए पनि पढ्न नपाएको आयुष्माले बताइन् ।

सकसमा विद्यालय पनि 
कमलपुरको विद्यालय २०२८ सालमा स्थापना भएको हो । ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा अहिले जम्मा १८ विद्यार्थी छन् । जसमध्ये ८ जना गुरुङ समुदायका बालबालिका छन् । अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ समुदायका ७ बालबालिका पढ्छन् । तीन जना दलित समुदायका बालबालिका छन् । विद्यार्थी संख्या कम हुँदै गएपछि यो क्षेत्रको पुरानो विद्यालय अस्तित्व बचाउने दोसाँधमा पुगेको छ । महानगरपालिकाले विद्यालयलाई किन नगाभ्ने ? भनेर प्रश्न सोधेको छ । 

कमलपुर महानगरभित्र रहेको पहाडी गाउँ हो । नारायणगढ–मुग्लिन सडकको १७ किलोमिटर पर गएपछि कमलपुर जान उकालो चढ्नु पर्छ । मोटर गुड्न सक्ने बाटो भर्खर बनेको छ । गाउँ पातलो छ । त्यसैले नियमति गाडी चल्दैनन् । अन्य साना गाडी पनि सहजै गुड्न सक्दैनन् । मोटरसाइकल, बोलेरो र अटोरिक्सा जेनतेन पुग्ने गरेका छन् । विद्यालय आडैमा झुरुप्प गुरुङ बस्ती छ । अलि तल चेपाङ परिवार छरिएर बसेका छन् । आडमा दलित समुदायको पनि बसोबास छ । ‘गुरुङ समुदायका नयाँ पुस्ता प्राय: गाउँमा छैनन् । सानोतिनो व्यापार व्यवसाय जे हुन्छ गर्छन् । भरतपुर या जुगेडीमै डेरा गरी बसेका छन् । छोराछोरी उतै लगेर पढाउँछन् । त्यसैले गाउँमा पढ्ने उमेरका बच्चा निकै कम छन्,’ प्रअ पौडेलले भने ।

कुनै बेला एक सय जनासम्म विद्यार्थी हुने विद्यालयमा अहिले २० विद्यार्थी पुर्‍याउन पनि गाह्रो हुने गरेको छ । नजिकमा अरु विद्यालय पनि छैनन् । कम्तीमा २ घण्टा उकालो, ओरालो बाटो हिँडेर रातमाटे या चौकीडाँडा जानु पर्ने हुन्छ । अन्यत्र गएर आर्जन गर्ने उपाए नभएकाहरु मात्रै गाउँमा रोकिएका छन् । विद्यालय बन्द भए उनीहरुका बालबच्चालाई के गर्ने भन्ने प्रश्न उठ्ने प्रअ पौडेलले बताए । उनले भने, ‘गाउँमा कम्तीमा २०/२२ जना बच्चा त हुन्छन् । यहाँ स्कुल नभए उनीहरु दुई अढाइ घण्टा हिँडेर पढ्न पर कसरी जालान् ?  थोरै बच्चा राखेर पनि स्कुल कति समय चलाउने ? गम्भीर अवस्था आएको छ । यही नै राम्रोसँग पढाए तल गएका अभिभावकले पनि बच्चा लिएर फर्कलान् भनेर हामी मिहनेत गरिरहेका छौं ।’

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully