तातोपानीमा चिनियाँ जंगलको बाटो हुँदै ल्याइएको ५६ लाखभन्दा बढी मूल्यका भेपसहित ७ जना पक्राउ

ईलाका प्रहरी कार्यालय कोदारीले शुक्रबार राति ५६ लाख ७० हजार रुपैयाँ बराबरका १ हजार ६२० थान भेपसहित ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

जेष्ठ २, २०८३

अनिश तिवारी

7 arrested with cannabis worth over 5.6 million rupees brought through Chinese forest route in Tatopani

सिन्धुपाल्चोक — जिल्लाबाट चीन जोड्ने तातोपानी नाकाको सीमावर्ती क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा अवैध भेप बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय कोदारीले शुक्रबार राति ५६ लाख ७० हजार रुपैयाँ बराबरका १ हजार ६२० थान भेपसहित ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भोटेकोशी गाउँपालिका–३ गंजेखोला क्षेत्रमा शुक्रबार राति करिब ९:३० बजे विशेष चेकजाँचका क्रममा उक्त भेप बरामद गरिएको हो । प्रहरी निरीक्षक राईको कमाण्डमा खटिएको ७ सदस्यीय टोलीले चीनबाट भोटेकोशी गाउँपालिका–३ बोक्चेन हुँदै अरनिको राजमार्गको दसकिलोतर्फ ल्याइँदै गरेको अवस्थामा भेप फेला पारेको हो । 

प्रहरीले ९ वटा बोराले छोपेर काटुनभित्र लुकाइछिपाइ ल्याइएको अवस्थामा भेप बरामद गरेको जनाएको छ । 'चिनियाँ जंगल क्षेत्र छिचोल्दै भोटेकोशी गाउँपालिका–३ बोक्चेन हुँदै कोदारी राजमार्गको दशकिलो निस्कने भित्री बाटो प्रयोग गरेर भेप ल्याइएको रहेछ,' प्रहरी निरीक्षक राईले भने, 'बरामद भेप भोलि भन्सार कार्यालयमा बुझाउने तयारी छ ।'

घटनामा संलग्न रहेको आरोपमा भोटेकोशी गाउँपालिका–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल रक्पाल, ३७ वर्षीय मंगलबहादुर थामी तथा बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully