तातोपानी नाकामा झोलेपोके व्यापार ठप्प, सीमावर्ती बस्तीमा निराशा

बिहान सबेरै चिनियाँ बजार झामु बजार पुगेर बेलुका झोलाभरि सामान बोकेर फर्किने स्थानीयको चहलपहल नयाँ सरकारी नियम लागू भएसँगै एकाएक रोकिएको छ ।

जेष्ठ १, २०८३

अनिश तिवारी

Trade stalled at Tatopani border crossing, causing disappointment in border settlements

What you should know

सिन्धुपाल्चोक — नेपाल–चीन सीमास्थित तातोपानी नाका यतिबेला अस्वाभाविक रुपमा सुनसान बनेको छ । बिहान सबेरै चिनियाँ बजार झामु बजार पुगेर बेलुका झोलाभरि सामान बोकेर फर्किने स्थानीयको चहलपहल नयाा सरकारी नियम लागू भएसँगै एकाएक रोकिएको छ । 

तातोपानी भन्सार कार्यालयले मितेरीपुलस्थित यात्रु शाखाबाट खाद्य तथा प्लान्ट क्वारेन्टाइन अनुमति नभएका सामग्री ल्याउन रोक लगाएपछि सीमावर्ती क्षेत्रको झोलेपोके व्यापार ठप्प बनेको हो । यसबाट भोटेकोशी गाउँपालिका र बाह्रबिसे आसपासका सयौं परिवार प्रत्यक्ष प्रभावित भएका छन् । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले नयाँ व्यवस्थाले स्थानीयको दैनिकी नै संकटमा परेको बताए । ‘सीमाक्षेत्रका धेरै परिवार यही सानो व्यापारमा निर्भर थिए । अहिले उनीहरु कामविहीनजस्तै भएका छन्,’उनले भने ।

यसअघि यहाँको तातोपानी, लिस्तीकोट, फुल्पिकझी मार्मिलगायत क्षेत्रका स्थानीय दैनिक रुपमा चिनियाँ बजार झामु पुगेर खाद्यान्न, घरायसी तथा विद्युतीय सामान ल्याएर बिक्री गर्दै आएका थिए । त्यही आम्दानीबाट घरखर्च, बालबालिकाको पढाइ र ऋण व्यवस्थापन हुँदै आएको स्थानीयको भनाइ छ । झोलेपोके व्यापारमा संलग्न शान्ता श्रेष्ठले सरकारले गरिब समुदायको जीविकोपार्जनको बाटो बन्द गरिदिएको गुनासो गरिन् । ‘हामी उद्योगपति होइनौं, दिनभरि बोकेर ल्याएको सामान बेचेर घर चलाउने मान्छे हौं,’ उनले भनिन् । 

स्थानीयका अनुसार पछिल्लो एक महिनायता यात्रु शाखाबाट व्यवहारमै कुनै पनि खाद्य सामग्री ल्याउन दिइएको छैन । यसको असर सीमापारिका साना पसल र श्रमिकमाथि समेत परेको छ । नेपाली ग्राहकको भरमा चल्ने झाङ्मुका धेरै खुद्रा पसल सुनसान बनेका छन् भने त्यहाँ कार्यरत नेपाली कामदार गाउँ फर्किन थालेका छन् । स्थानीय सेते श्रेष्ठले भोटेकोशी क्षेत्रको भौगोलिक कठिनाइका कारण वैकल्पिक रोजगारीको सम्भावना न्यून रहेको बताए । ‘यहाँ खेतीयोग्य जमिन छैन, उद्योग छैन । सीमापारिको सानो व्यापार नै मुख्य आयस्रोत थियो,’ उनले भने । भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाले समस्या समाधानका लागि विभिन्न तहमा छलफल भइरहे पनि निकास ननिस्किएको बताए । ‘खासा खुल्ने आशामा बसेका स्थानीय अहिले सामान्य घरायसी सामानसमेत ल्याउन नपाउँदा थप तनावमा छन्,’उनले भने ।

तातोपानी नाका विगतमा भूकम्प, बाढीपहिरो, कोभिड–१९ र आगलागीजस्ता घटनाले पटक–पटक प्रभावित हुँदै आएको थियो । केही महिनाअघि चीनतर्फ लागेको डढेलोका कारण पनि नाका प्रभावित बनेको थियो । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेले सरकारको नयाँ व्यवस्थाअनुसार क्वारेन्टाइन अनुमति नभएका खाद्य सामग्री रोकिएको स्पष्ट पारे । 

उनका अनुसार भ्याटमा दर्ता भएका व्यवसायिक फर्मले आवश्यक प्रक्रिया पूरा गरेर मात्रै सामान आयात गर्न पाउने व्यवस्था छ । ‘खाद्यजन्य सामग्रीमा क्वारेन्टाइन अनिवार्य गरिएको हो । हाल भन्सार नगरि कुनै सामान नछोडिएको अवस्था छ,’ उनले भने । नयाँ नियम लागू हुनुअघि पाँच हजार मूल्यबराबरको सामान भन्सार गरेर ल्याउने प्रचलन थियो । नयाँ सरकार बनेपछि नाकाबाट कुनै पनि सामान ल्याउन नदिएको झोलेपोके व्यापारीले दुखेसो गरेका छन् ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully