विशालु च्याउ खाँदा कुलबाङमा एक बालकको मृत्यु, दुई बिरामी

इच्छाकामना गाउँपालिका-१ काउले हात्तीबाङको कुलबाङ गाउँमा शुक्रबार एक बालकको मृत्यु भएको हो । अन्य दुई जना गम्भीर छन् ।

जेष्ठ १, २०८३

रमेशकुमार पौडेल

A child died, two fell ill in Kulbang after eating giant mushrooms.

चितवन — जंगलबाट ल्याएको विशालु च्याउ खाँदा बिरामी परेका एकै घरका तीन बालबालिकामध्ये एक जनाको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर छ ।

इच्छाकामना गाउँपालिका-१ काउले हात्तीबाङको कुलबाङ गाउँमा शुक्रबार एक बालकको मृत्यु भएको हो ।  अन्य दुई जना गम्भीर बिरामी छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको इच्छाकामना-१ का वडाध्यक्ष सन्तबहादुर मगरले बताए । च्याउ खाए पछि उनीहरुलाई वान्ता, पखाला जस्ता लक्षण देखिएका थिए ।  

उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल ल्याएका स्थानीय राष्ट्रिय मावि हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरले स‍ो विद्यालयमा कक्षा २ मा पढ्ने नमुना चेपाङको निधन भएको बताए । कक्षा ५ मा पढ्ने मनिता चेपाङ र कक्षा ३ पढ्ने सजन चेपाङको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।उनीहरूका बुवाआमाको अवस्था भने सामान्य देखिन्छ । 'मंगलबार बेलुका च्याउ पकाएर खाएको भन्ने छ । उनीहरूका बुवाआमा श्यामबहादुर र पदममायाको अवस्था भने सामान्य देखिन्छ,' प्रअ मगरले भने ।

जंगलमा पाइने कुनै च्याउमा हुने अमेनिटा नामको विशालु तत्वले कलेजोमा असर गरेर जटिलता ल्याउन सक्ने भरतपुर अस्पतालका चिकित्सक डा‍. प्रमोद पाैडेलले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully