बागमतीले पायो मकवानपुरको राष्ट्रपति रनिङ शिल्ड

बिहीबार बिहान सम्पन्न भएको प्रतियोगितामा बागमती गाउँपालिका २५ स्वर्ण, १५ रजत र १२ कास्य पदक जित्न सफल भएको हो ।

वैशाख ३१, २०८३

प्रताप विष्ट

Bagmati gets Makawanpur's Presidential Running Shield

What you should know

हेटौंडा — १६ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागमती गाउँपालिकाले हात पारेको छ ।

बिहीबार बिहान सम्पन्न भएको प्रतियोगितामा बागमती गाउँपालिका २५ स्वर्ण, १५ रजत र १२ कास्य पदक जित्न सफल भएको हो । रनिङ शिल्डमा बकैया गाउँपालिकाले १६ स्वर्ण, ४ रजत र ४ कास्य पदक हात पारेर द्वितीय स्थान हासिल गरेको छ । 

उक्त प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाले १५ स्वर्ण, ६ रजत र १० कास्य पदक पाएर तृतीय भएको छ। हेटौंडा उपमहानगरपालिका गत वर्षको राष्ट्रपति रनिङ शिल्डको विजेता हो । बुधबार नै सम्पन्न हुनुपर्ने उक्त प्रतियोगिता वर्षाको कारणले एक दिन लम्बिएको हो । 

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि  हेटौंडा–४ स्थित हुप्रचौरमा सुरु गरिएको प्रतियोगिताको बुधबार भएको छात्रतर्फ भलिबलको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिका विजयी भएको थियो । हेटौंडा उपमहानगरपालिकाले थाहा नगरपालिकालाई २५–२२, २५–१९, २०–२५, २२–२५ र १५–६ सेटले पराजित गरेको थियो । 

यसैगरी छात्रतर्फको ३ हजार मिटरको दौडमा मनहरी गाउँपालिका सन्दीप विक प्रथम भएका थिए भने मनहरीकै मनिक गोले द्वितीय भएका थिए । थाहा नगरपालिकाका हरिकृष्ण वल तृतीय भएका थिए ।

छात्रातर्फको ३ हजार मिटर दौडमा बागमती गाउँपालिकाकी रविना भोलन प्रथम, थाहा नगरपालिकाकी युनिसा लामा द्वितीय र मनहरीकी वविता श्रेष्ठ तृय हुन सफल भएकी थिइन् । प्रतियोगिताका विजयी पालिका र खेलाडीलाई बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रदेश खेलकुद परिषद्का सदस्य अमृत लुम्बालगायतले रनिङ शिल्ड र पुरस्कार वितरण गरेका थिए ।

उक्त प्रतियोगितामा भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु र एथ्लेटिक्स खेल सञ्चालन गरिएको थियो  ।  प्रतियोगितामा ९ वटा पालिकाका २१० छात्रासहित ४५० जना खेलाडी सहभागी थिए । प्रतियोगितामा राक्सिराङ गाउँपालिकाका छात्रछात्राको सहभागीता थिएन ।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully