लोभमा फसाउँदै, साना व्यवसायी ठगी गर्दै हिँड्ने राउत पक्राउ

जिरीका व्यवसायीलाई सस्तो सामान दिने भन्दै ६ लाख ठगी गरी फरार रहेका राउत २ दशकदेखि नाम फेरेर देशभर ठगीमा संलग्न रहेको खुलेको छ ।

वैशाख ३०, २०८३

केदार शिवाकोटी

Raut arrested for cheating small businessmen by luring them with greed

दोलखा — जिरी नगरपालिकाका एक व्यवसायीलाई सस्तोमा होलसेल सामान दिने भन्दै ६ लाख ठगी गरेर भाग्ने क्रममा वैशाख ३ गते तामाकोसी गाउँपालिका–७ किर्नेटारबाट राजकुमार राउत पक्राउ परे । पक्राउ परेका उनीमाथि अनुसन्धान गर्दै जाँदा उनी देशैभरका साना व्यवसायीलाई सस्तोमा सामान दिने भन्दै झन्डै दुई दशकदेखि ठगीमा संलग्न रहेको खुलेको छ ।

अनुसन्धानका क्रममा उनी नाम परिवर्तन गर्दै नेपाली सेनाको कोर्ट मास्टर भन्दै साना व्यवसायीलाई सुलभ मूल्यमा होलसेल सामान दिने भनेर ठगी गर्दै आएको खुलेको दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।

‘आर्मीको कोर्ट मास्टर हुँ भन्ने, होलसेलमा सामान सस्तोमा दिन्छु भनेर दुरुस्त पार्ने,’ तिमल्सिनाले भने, ‘साना व्यवसायी पनि नाफाको लोभमा होला भनेर पत्याउने गर्दा रहेछन्, यहाँ मात्रै होइन देशैभर ठगी गर्दै हिँडेको खुलेको छ ।’

जिरीका व्यवसायीलाई चरिकोटको नेपाली सैनिक गण अगाडि सामान लोड गर्न जानु भनेर ६ लाख लिएर भाग्ने क्रममा राउत पक्राउ परेको उनले बताए । सप्तरीको सुरुङ्गा नगरपालिका–३ का राउत ठगीकै आरोपमा ४ वर्ष कैद भुक्तान भएर २०७६ बाट पुनः ठगीमै सक्रिय रहेको देखिएको उनले बताए ।

‘साना व्यवसायीलाई विभिन्न प्रलोभनमा पारेर रकम हत्याउने र त्यसपछि फरार हुने गरेका थिए,’ उनले भने, ‘उनी पक्राउ परेपछि अनुसन्धानका क्रममा मात्रै थाहा पाइयो, राउतलाई धेरै जिल्लामा प्रहरीले खोजी गरिरहेको रहेछ ।’

हालसम्म उनलाई उदयपुर, भक्तपुर, नुवाकोट, काभ्रेपलान्चोक, सुनसरी, काठमाडौँका प्रहरीले खोजी गरिरहेको खुलेको उनले बताए । कतै आर्मीको कोर्ट मास्टर, कतै रासन ठेकेदार—अनेक रूपमा साना व्यवसायीसँग नजिकिएर नाफाको लोभमा फसाउने गरेको उनले बताए ।

विभिन्न जिल्लाको प्रहरीलाई नै 'चक्मा' दिने गरी फिल्मी शैलीमा ठगी गर्ने गरेको तिमल्सिनाले बताए । व्यवसायीका पसलमा सामान डिल गरेर अर्कै ठाउँमा पैसा लिएर सामान लिन आउनु भन्दै पैसा लिएपछि बेपत्ता हुने गरेको खुलेको छ । पक्राउपछि धेरै जिल्लाबाट ठगिएकाहरू सम्पर्कमा आएको तिमल्सिनाले बताए ।

हाल उनीमाथि ६ वटा जिल्लामा आपराधिक लाभ र आपराधिक विश्वासघातमा मुद्दा दायर भएको छ । देशभर कति ठगिएका छन् भन्ने अनुसन्धान भइरहेकोले राउतबाट ठगिएकालाई सम्पर्कमा आउन आग्रह गरिएको उनले बताए ।

दोलखा जिल्ला अदालतले राउतलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

केदार

Link copied successfully