कालिका नगरपालिकाको ४ करोड ३८ लाख लागतमा बनिरहेकाे पुलले दुई पालिकाका झण्डै १२ हजार बासिन्दालाई बर्खामा सुरक्षा यात्रा गर्न सहज हुनेछ।
What you should know
चितवन — कयरखोलामा पैतला मात्रै डुब्ने पानी भएका कारण ओहोरदोहोर गर्न सहज छ । तर बर्खामा यो खोला ठूलो बन्छ । चितवनको पहाडी भेग कालिका नगरपालिका–१० सिद्धिको तीन दोभानबाट कयरखोला तरेर घर छेरेबाङ गइरहेकी नमुना चेपाङ बर्खामा खोलाको सास्ती सम्झदा झसंग हुन्छिन् । उनकै आफन्तको यो खोलामा बगेर ज्यान गुमाएका छन् ।
२०८१ साउन १० मा साँझपख तीन दोभानबाट ३३ वर्षका गम्भीरबहादुर चेपाङ कयर खोला तर्दै थिए । उर्लेको बाढीले उनलाई बगायो । बगेको ठाउँभन्दा लगभग डेढ किलोमिटर तल उनको शव फेला पर्यो । गम्भीर नमुनाका फुपुका छोरा थिए । ‘यहाँ राम्रो पुल भएको भए दाइले अनाहकमा ज्यान गुमाउनु पर्दैन थियो होला,’ नमुनाले सुनाइन् ।
खोलाले बगाउने घटना बढ्न थालेपछि कालिका नगरपालिकाले तीन दोभानमा पुल बनाउन सुरु गर्यो । शनिबार उक्त पुलको ढलान थियो । ढलान हुँदै गर्दा पुल छेउमा उभिएकी नमुनाले थपिन्, ‘अब त्यस्तो नहोला ।’ उनले पछ्यौरीले बाँधेर ढाडमा बच्चा बोकेकी थिइन् । केहीबेर पुल हेरेपछि उनी उनी हतारिदै छिपछिपे खोला तरेर गाउँतिर लागिन् ।
नवीन प्रजा चेपाङ कयर तरेर पाइमाराङस्थित घर जाँदै थिए । उनकी श्रीमती स्वस्तिका गर्भवती छन् । श्रीमतीको स्वास्थ्य परीक्षणका लागि उनी एक डेढ घण्टा हिँडेर सिद्धि तीन दोभान आउँछन् । बर्खामा खोला तर्दा मान्छे बगेको र ज्यानै गुमाएको घटना सम्झदा उनलाई डर नलाग्ने हैन । तर पुल बन्दै गरेका कारण अब त्यस्तो नहोला भन्ने आशामा छन् नवीन । ‘म यही तीन दोभानको मझवाङ माविमा पढेको हो । पढ्न आउँदा खोला बढेका बेला निकै सास्ती पाइयो । डोरी टाँगेर त्यसमा झुण्डेर पढ्न आउथ्यौं,’ नवीनले सुनाए । आफूहरुले तुइन तरेर वारपार गरे पनि अब यस्तो समस्या नहुने उनलाई लागेको छ ।
कालिका नगरपालिकाका मेयर विनोद रेग्मी संघीय र प्रदेश सरकारबाट बजेट नपाएपछि नगरपालिका आफैले पुल निर्माण सुरु गरेको बताए । ‘यहाँ वारपार गर्दा मान्छे नै मर्ने तर पुल बनाउन बजेट नहुने । हामीले पनि संघ या प्रदेशतिर आशा नगरेको हैन । बजेट नआएपछि आशा मात्रै गरेर बसेर त भएन । मान्छे बचाउन हामीले नै तत्परता बढयौं,’ मेयर रेग्मीले भने ।
नगरपालिकाका इन्जिनियर किशोर खतिवडाले संघीय बजेटबाट पुलको डिपिआर तयार भएको बताए । त्यसपछि गत वर्षको असारमा निर्माण कम्पनीसँग सम्झौता गरेर काम सुरु भएको हो । आउँदो पुस ३० भित्र निर्माणका सबै काम पूरा गर्नुपर्ने सम्झौता छ । ढलान भएका कारण ठूला गाडी नचले पनि आउँदो असारभित्र मान्छे तथा दुई पाङ्ग्रे/तीन पाङ्ग्रे गाडी ओहोरदोहोर गर्न मिल्ने उनले बताए ।
‘खोला किनारमा पर्खाल लगाउनेलगातका काम बर्खा अगाडि गर्न नसकिएला । बर्खा सकिए लगत्तै काम गरेर समयभन्दा अगाडि नै पुलको सबै काम पूरा गर्छाैं । अहिले ढलान भएको छ । बर्खामा पुल चालु गर्न सकिन्छ,’ इन्जिनियर खतिवडाले भने । पुलको लम्बाइ ४० मिटर छ ।
यसको निर्माण सम्झौता रकम ४ करोड ३८ लाख ६७ हजार ८५५ रुपैयाँ रहेको इन्जिनियर खतिवडाले बताए । सिद्धिको उत्तरी क्षेत्रका गाउँमा बस्ने १०/१२ हजार जनसंख्या यो पुलबाट लाभान्वित हुने कालिका नगरपालिकाकी उपमेर विमला लामाले बताइन् ।
इच्छाकामनाको हात्तीबाङभन्दा तल्लो भेगका बासिन्दा पनि यहीँ बाटो हुँदै ओहोरदोहोर गर्छन् । यी गाउँमा प्राय: आदिवासी चेपाङ समुदायको बसोबास छ । इच्छाकामना गाउँपालिकाको दक्षिणपूर्वी भेगमा पर्ने चौकी, भाराङ, थाप्राङ जस्ता गाउँ पनि यही बाटो हुँदै गइन्छ । त्यसैले यो पुलले दुई पालिकाका बासिन्दालाई लाभ पुर्याउँछ ।
तीन दोभानबाट चौकी, थाप्राङहुँदै इच्छाकामनाको पर्यटकीय गाउँ हात्तीबाङ पुगिन्छ । त्यहाँबाट पृथ्वी राजमार्गको हुग्दी बजार नजिकै छ । ‘पुल र बाटो पनि राम्रो भए यहाँबाट पृथ्वी राजमार्ग पुग्न सकिन्छ । अहिले पनि साना गाडी पृथ्वी राजमार्गको हुग्दीदेखि तीन दोभान आउने गरेका छन् । यो बाटो राम्रोसँग चलाउन सके स्थानीयलाई सजिलो हुनुका साथै पर्यटनमा पनि लाभ पुग्छ,’ मेयर रेग्मीले भने ।
