४५ वर्षअघिको एक बोटले गाउँ नै व्यावसायिक कफी खेतीमा

भीमेश्वर नगरपालिका–५ कातिकेमा किसान, सहकारी र स्थानीय सरकारको सहकार्यमा १७ सय विरुवा रोपेर व्यवसायिक कफी खेती विस्तार गरिएको छ।

वैशाख २६, २०८३

केदार शिवाकोटी

A single plant from 45 years ago turned a village into commercial coffee farming

What you should know

दोलखा — ४५ वर्षअघि तत्कालीन माटी गाविस अन्र्तगत हालको भीमेश्वर नगरपालिका–किराँतीछाप जिल्लाकै व्यपारिक केन्द्रका रुपमा प्रख्यात थियो । त्यहीँ व्यवसाय र नजिकै रहेको विद्यालयमा अध्यापन गराउँथे हालको भीमेश्वर नगरपालिका–५ कातिकेका रामशरण बुढाथोकी । 

त्यसबेला किराँती छापमा बागवानी केन्द्र संचालनमा थियो । आँप, लिचिलगायतका भूगोल अनुसारको फलफुल खेती विकास गर्न स्विस सरकारले बागवानी केन्द्र संचालनमा ल्याएको थियो । सोही फर्मबाट रामशरणले उपहारमा पाएको एक बोट कफीको विरुवा घरमा ल्याएका थिए । तर उनले पाएको उपहारको विरुवाको विषयमा उनलाई जानकारी थिएन । तत्कालीन समयमा ल्याएको ‘अरेविका’ जातको कफीको बोट अझै पनि उनको बारीमा छ । सोही बोटबाट उत्पादित कफीबाट उनको घर वरिपरी ४० बोट पुगिसकेको छ । तर उनले कफी खेतीका विषयमा ध्यान भने दिएका थिएनन् । 

कफीको व्यवसायिक खेतीमा कुनै ज्ञान र बजार दुवैको पत्तो नभएका कारण सौखका लागि मात्रै लगाएको उनले बताए । ‘आफ्नै बारीमा फलेको कफी अहिलेसम्म प्रयोग कसरी गर्ने भनेर जानेको छैन्,’ उनले भने, ‘यस्तोमा यो खेती कसरी व्यवसायिक रुपमा गर्नु ?’ उहिले विदेशीले दिएको भनेर रापेको उनले बताए । ‘कफीका बारेमा सुनेको मात्रै थिए, तर फलेको देखेको थिइन,’ उनले भने, ‘बोटमा रातो गेडा फलेपछि खासै वास्ता गरिन, पछि पो थाहा पाए कफी रहेछ भनेर ।’ उनलै रोपेको कफीको ४ दशकपछि कातिके कफी खेतीको पकेट क्षेत्रका रुपमा बिस्तार गरिन लागेको हो ।

कफीका लागि माटो र मौषम अनुकुल देखेपछि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारीले त्यस क्षेत्रका १३ जना किसानलाई १ हजार ७ सय विरुवा खरिद गरेर व्यवसायिक रुपमा रोप्न दिएको छ । रामशरणको बारीमा अहिले ४० बोट कफीका छन् । उनको बारीमा थप १ सय नयाँ विरुवा हुर्कँदैछन् । सहकरीले कातिकेमा कफी खेती विस्तारका लागि स्थानीय सरकारसँग जोड्यो । स्थानीय सरकारको लगानीले गाउँलाई कफी पकेट क्षेत्रका रुपमा औपचारिक रुपमा प्रवेश गरायो । कफीका लागि माटो र मौषम अनुकुल भएकाले रोपेको ४५ वर्षपछि व्यवसायिक रुपमा कफी खेती सुरु गरेको उनले बताए । 

हाल उक्त क्षेत्रका किसानले कफी खेती विस्तार गर्न किराँतेश्वर अर्गानिक कफी कृषक समूह पनि बनाएका छन् । समूहका हाल ३० जना किसान आवद्ध छन् । यीमध्ये १३ जना किसानले व्यवसायिक रुपमा कफी खेती गरेको उनले बताए । हाल १५ रोपनीमा कफी खेती गरिरहेका कातिकेका किसानले ५० रोपनीमा कफी विस्तार गर्ने योजना रहेको सहकारीका प्रबन्धक दिपक बस्नेतले बताए । समूहका सबै सदस्यलाई कफी खेतीमा जोड्ने उनले बताए । कातिकेमा मात्रै ७ हजार कफीका विरुवा रोपिने उनले बताए । कफीको बजार बढेकाले व्यवसायिक रुपमा जोडिएको उनले बताए । हालसम्म आफुले उत्पादन गरेको कफी भने बजारमा पुग्न नसकेको उनले बताए । 

भीमेश्वर नगरपालिकाले कातिकेलाई कफी पकेट क्षेत्रका रुपमा विकास गर्न स्थानीयसँगको सहकार्यमा ५० प्रतिशत लगानी अर्थात् २० लाखको योजना बनाएर १० लाख लगानी गरेको छ । बाँकी १० लाख स्थानीय किसानले व्यहोर्नेछन् । जुन विरुवा सिँचाइ लगायतमा हो । सहकारीले कफीको बजारीकरण र औजारमा लगानी गर्ने प्रबन्धक बस्नेतले बताए । ‘सहकारीको मुख्य उद्देश्य कफी खेती गरेका किसानलाई सहुलियत ऋणमा प्रशोधन गर्ने मिसिन, बजारीकरण लगायतमा जोड छौं,’ उनले भने, ‘जसका कारण किसानले कफी खेतीबाट आम्दानी लिन सकुन्, किसान र स्थानीय सरकारबीच पुलको काम गरिरहेका छौं ।’ किसानले उत्पादन बढाएपछि कफी प्रशोधन गर्ने प्रविधिमा लगानी गरिने उनले बताए । त्यसपछि सँगै किसानको बजारीकरणमा पनि सहयोग गर्ने उनले बताए ।

केदार

Link copied successfully