चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले बिहान ५ बजेर २० मिनेट जाँदा पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी दिए । दुईतर्फी रूपमा नै बन्द भएको सडक खुलाउन एक–डेढ घण्टा लाग्न सक्ने उनको भनाइ छ ।
चितवन — हिउँदभर रोकथामको कुनै काम नभएपछि पानी पर्न सुरु हुनेबित्तिकै तुइनखोलाको पहिरोले फेरि दुःख दिन सुरु गरेको छ ।
नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक तुइनखोलामा पहिरो खस्दा शुक्रबार बिहानदेखि सडक दुईतर्फी नै अवरुद्ध भएको छ । विगतका वर्षहरूमा तुइनखोलाले निकै सताउने गरेको थियो ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले बिहान ५ बजेर २० मिनेट जाँदा पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी दिए । दुईतर्फी रूपमा नै बन्द भएको सडक खुलाउन एक–डेढ घण्टा लाग्न सक्ने उनको भनाइ छ ।
राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिमी भेगसँग जोड्ने मुख्य सडक हो नारायणगढ–मुग्लिन सडक । तर पहिरोले यो सडकमा निकै सास्ती दिने गरेको छ । यो सडक हुँदै दिनहुँ १२ हजारभन्दा धेरै साना–ठूला गाडी गुड्छन् ।
तुइनखोलाको पहिरोले गत वर्ष पटक–पटक गरेर १८४ घण्टा बाटो अवरुद्ध भएको भरतपुरको डिभिजन सडक कार्यालयले जनाएको छ । लगातार ५८ घण्टासम्म बाटो थुनिएको थियो । यो पटक वैशाख २० गतेबाट बाटो रोकिन सुरु भएको छ ।
हिजो बिहीबार दिउँसो मात्रै पनि तुइनखोलामा ढुंगाले इन्धन ट्यांकीमा लाग्दा गुडिरहेको कारमा आगो सल्केको थियो ।