भाषा संग्रहालय स्थापना गर्छौँः मुख्यमन्त्री बानियाँ

मुख्यमन्त्री बानियाँले पालिका तथा सार्वजनिकस्थलमा सबैले देख्नेगरी नेपाली भाषाको साथै नेपाल भाषा र तामाङ भाषामा सूचना वा बोर्ड राख्न निर्देशन दिए ।

वैशाख २४, २०८३

रासस

We will establish a language museum: Chief Minister Baniya

भक्तपुर — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहले नेपाल (नेवारी) भाषा र तामाङ भाषालाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएका छन् ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले बिहीबार भक्तपुरमा आयोजना गरेको प्रदेश भाषा दिवस–२०८३ को उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले  पालिका तथा सार्वजनिकस्थलमा सबैले देख्नेगरी नेपाली भाषाको साथै नेपाल भाषा र तामाङ भाषामा सूचना वा बोर्ड राख्न निर्देशन दिए ।

भाषा, कला, संस्कृतिको संरक्षणका लागि आवश्यक परे प्रदेश सरकारले बजेट थप गर्ने जनाउँदै मुख्यमन्त्री बानियाँले मातृभाषाको संरक्षणले मात्रै आफ्नो इतिहास, संस्कृति र पहिचानको संरक्षण हुने बताए । काठमाडौँ उपत्यकामा भाषा संग्रहालय स्थापना गर्नुपर्ने उल्लेख गर्दै उनले इतिहास र सम्पदाको सहरको रूपमा रहेको काठमाडौं उपत्यकामा नेवारी, तामाङलगायत सबै जातजातिको भाषा, कला, संस्कृति, परम्परा, संस्कार र संस्कृतिको संरक्षण गर्न एउटा संग्रहालय निर्माण गर्ने बताए ।

मुख्यमन्त्री बानियाँले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका नेवारी भाषाका साहित्यकार डा पुष्पराज राजकर्णिकार र तामाङ भाषा साहित्यमा योगदान पुर्‍याएका राजेन्द्र थोकरलाई सम्मान गरे । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, शिक्षा सामाजिक विकासमन्त्री कञ्चन वादे श्रेष्ठ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल तामाङ घेदुङका महासचिव जगत दोङ, नेवा दे दबुका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति, प्रदेश सचिव दिपेन्द्र सुवेदीलगायतले सबै भाषा, कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताए ।

कार्यक्रमका सभापति एवं बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयनमा आएको दिनको सम्झनामा विगत तीन वर्षदेखि प्रत्येक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने निर्णय गरेकाले आजको कार्यक्रम आयोजना गरिएको बताए ।

रासस

Link copied successfully