कैलाशका १० मध्ये ८ वडामा बर्थिङ सेन्टर

कैलाश गाउँपालिकाले ३ वर्षयता १० मध्ये ८ वडामा एक/एक वटा बर्थिङ सेन्टर संचालनमा ल्याएको छ ।

वैशाख २४, २०८३

प्रताप विष्ट

Birthing centers in 8 out of 10 wards of Kailash

हेटौ‌ंडा — मकवानपुरको कैलाश गाउँपालिकाले गर्भवतीलाई सुरक्षित ढंगले सुत्केरी गराउने उद्देश्यले पालिकाका अधिकांश वडामा बर्थिङ सेन्टर स्थापना गरेको छ ।

कैलाश गाउँपालिकाले ३ वर्षयता १० मध्ये ८  वडामा एक/एक वटा बर्थिङ सेन्टर संचालनमा ल्याएको छ । अब कैलाशका २ वडामा मात्र बर्थिङ सेन्टर संचालन हुन बाँकी छ ।

पछिल्लो समय सोमबारदेखि कैलाश गाउँपालिका-२ बैकुन्ठमा बर्थिङ सेन्टर संचालनमा ल्याएको हो ।यसअघि यहाँ बर्थिङ सेन्टर नहुँदा गर्भवती र सुत्केर थाहा नगरपालिकाको पालुङ र कैलाश-१ बरभञ्ज्याङ बर्थिङ सेन्टर पुग्नुपर्ने बाध्यता थियो । उक्त दुई स्थानमा पुग्न झण्डै २ घन्टा पैदल हिँड्नु पर्थ्यो । 

धादिङको रोराङ बेनिघाट गाउँपालिका-४ सँग जोडिएको बैकुण्ठमा बर्थिङ सेन्टर संचालनमा आएपछि उक्त क्षेत्रका गर्भवतीलाई गाउँमै सुरक्षित ढंगले सुत्केरी गराउने सुविधा हुनेछ । गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले वडा ६ को पकनी र १० को भाल्टारमा बर्थिङ सेन्टर स्थापना गरेर ‘होम डेलीभरी’ श्न्यू गाउँपालिका बनाउने योजना गरेको बताए ।

चेपाङ समुदायको बाहुल्य रहेको कैलाश गाउँपालिकामा गत आर्थिक वर्षमा ३ सय ५७ जना गर्भवती हुने अनुमान गरिएको थियो । तीमध्ये १ सय ७० गर्भवती मात्र स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख तिलक गौतमले बताए ।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully