पहिरोले ठप्प तातोपानी नाका निरीक्षणमा चिनियाँ राजदूत झाङ

खाद्यान्न, लत्ताकपडा र निर्माण सामग्री बोकेका कन्टेनर रोकिँदा स्थानीय बजारसँगै राजधानीसम्म आपूर्ति प्रभावित हुन थालेको छ ।

वैशाख २०, २०८३

अनिश तिवारी

Chinese Ambassador Zhang inspects Tatopani border crossing blocked by landslide

सिन्धुपाल्चोक — नेपाल–चीन व्यापारको प्रमुख नाका तातोपानी इको खण्ड पहिरो खसेर पुनः अवरुद्ध हुँदा यसको दीर्घकालीन समाधानबारे अन्योल कायमै देखिएको छ ।

यसैबीच नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ आइतबार ‘इको पहिरो’ प्रभावित क्षेत्रको अनुगमनका लागि तातोपानी पुगे पनि नियन्त्रणका ठोस योजना सार्वजनिक भएको छैन ।

लिपिङ क्षेत्रमा गएको पहिरोका कारण पाँच दिनदेखि नाका बन्द हुँदा आयात पूर्ण रूपमा ठप्प छ । खाद्यान्न, लत्ताकपडा र निर्माण सामग्री बोकेका कन्टेनर रोकिँदा स्थानीय बजारसँगै राजधानीसम्म आपूर्ति प्रभावित हुन थालेको व्यवसायीहरू बताउँछन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार राजदूत झाङ खासा हुँदै नेपाल प्रवेश गरी ६ सदस्यीय टोलीसहित स्थलगत निरीक्षणमा पुगेका थिए । टोलीले करिब आधा घण्टा पहिरो क्षेत्र अवलोकन गरी रिपोर्ट तयार पारेर फर्किएको छ । 'उहाँहरु फर्किसक्नुभएको छ, नाका ठप्प छ तर सडक सञ्चालन गर्न चरिकोट सडक डिभिजनद्वारा धमाधम काम सुरु भइरहेको छ,' उनलेे भने ।

तर, पहिरो नियन्त्रणका लागि जिम्मेवार चिनियाँ कम्पनी कहिले परिचालन हुन्छ भन्नेबारे कुनै स्पष्टता नआएको स्थानीय सरोकारवालाहरूको गुनासो छ। उनीहरूका अनुसार प्रत्येक वर्ष मनसुन सुरु भएसँगै दोहोरिने समस्या समाधानका लागि दीर्घकालीन संरचनागत उपाय आवश्यक भए पनि काम अघि बढ्न सकेको छैन ।

इकोमा पटक–पटकको अवरोधले सीमापार व्यापारमा अनिश्चितता बढाएको छ भने वैकल्पिक नाकामा निर्भरता बढ्न थालेको छ। 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully