शिक्षा, अनुसन्धान र उद्यमशीलतामा जोड दिँदै धादिङमा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

नेपालसहित विभिन्न ७ देशका प्रतिष्ठित प्राध्यापक, अनुसन्धानकर्ता र शैक्षिक क्षेत्रका विज्ञ सम्मेलनमा सहभागी थिए ।

वैशाख १९, २०८३

पोषनाथ अधिकारी

First international conference held in Dhading, emphasizing education, research, and entrepreneurship

What you should know

धादिङ — नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङको रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा धादिङबेसीमा  'प्रथम अन्तर्राष्ट्रिय सम्मेलन २०२६' सम्पन्न भएको छ।

शिक्षा, अनुसन्धान र उद्यमशीलतामार्फत समुदाय सशक्तीकरण गर्ने मूल उद्देश्यका साथ धादिङवेशीमा शुक्रबार र शनिबार चलेको अन्तर्राष्ट्रिय सम्मेलन ज्ञान र अनुभव साटासाट गर्दै सकिएको हो। नेपालसहित विभिन्न ७ देशका प्रतिष्ठित प्राध्यापक, अनुसन्धानकर्ता र शैक्षिक क्षेत्रका विज्ञ सम्मेलनमा सहभागी थिए ।

स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म शैक्षिक सहकार्य विस्तार, अनुसन्धान प्रवर्द्धन तथा नवीन सोच आदान–प्रदानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वासका साथ गरिएको सम्मेलनमा उद्यमशीलता र शिक्षण सिकाइ विधिमा कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने कुरामा जोड दिइएको थियो।

सम्मेलनमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई व्यापार, व्यवसाय र उद्यमशीलतामा कसरी जोड्न सकिन्छ, शिक्षण सिकाइलाई कसरी रूपान्तरण गर्न सकिन्छ र विद्यार्थीलाई जीवनोपयोगी तथा सीपमूलक शिक्षासँग कसरी जोड्न सकिन्छ भनेर विभिन्न सत्र सञ्चालन गरिएका थिए। शिक्षा संकाय, व्यवस्थापन, वातावरण विज्ञानलगायत विभिन्न विषयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले मुख्य तथा प्लेनरी सत्रमा कार्यपत्र प्रस्तुत गरेकाे सम्मेलनका संयोजक एवं नीलकण्ठ क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज सुवेदीले बताए।

क्याम्पस प्रमुख मुरारी अधिकारीका अनुसार विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी, शिक्षक र पेसा व्यवसायको खोजीमा भौँतारिरहेका युवाहरूको समेत सम्मेलनमा सहभागिता थियो ।

सम्मेलनमा प्यानल छलफलमार्फत समसामयिक शैक्षिक मुद्दा, उद्यमशीलता, नवीन शिक्षण विधि र अनुसन्धानका सम्भाव्यताबारे व्यापक बहस भएको थियो। अनुसन्धानको पाटोलाई अगाडि बढाउनुपर्छ भन्ने सिकाइसँगै ज्ञानको दायरा पनि फराकिलो बनाएको अनुभव सहभागीहरूको छ।

विभिन्न देशबाट आएका सहभागीले यसले दुई देशबीचको शैक्षिक सम्बन्ध विस्तार, सिकाइ र अनुभव साटासाट गर्न समेत अहम् भूमिका खेलेको महसुस गरे। वालिङ क्याम्पस, स्याङ्जाकी क्याम्पस प्रमुख विष्णु सुवेदी गैरेले भनिन्, 'यो कन्फरेन्सले सम्पूर्ण प्रिजेन्टर, सहभागी, त्यस्तै गरेर प्लेनरी सेसन्समा पनि जुन अन्तरक्रिया भए, जुन संवाद चले र कि-नोट स्पिकरका जुन मुख्य बुँदा छन्, यी सम्पूर्ण कुराले ज्ञानको दायरा अलिकति फराकिलो बनाएको मैले महसुस गरिरहेकी छु।'

त्यस्तै, संयुक्त राज्य अमेरिकाका तर्फबाट वक्ताका रूपमा सहभागी फराह लिटपेजले यस्ता अवसरले शिक्षकलाई एकसाथ आउने समस्या र एकअर्काबाट सिक्ने मौका प्रदान गर्ने बताए ।

यस्ता सम्मेलनले एकातिर सिकाइ उपलब्धि साटासाट गर्ने नेटवर्क बन्ने र अर्कोतर्फ अनुसन्धानलाई थप गहिराइमा पुर्‍याउन सहयोग गर्ने प्राध्यापकहरूको बुझाइ छ। त्यसका लागि यस्ता सम्मेलन महत्त्वपूर्ण माध्यम हुन् भन्ने काठमाडौँ विश्वविद्यालयका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुइँटेलले बताए। 'यो कन्फरेन्स भनेको परम्परागत हिसाबले अनुसन्धान गरिसकेपछि त्यसलाई सेयर गर्ने एउटा प्लेटफर्म हो, जहाँ अरूले आफूले गरेका अनुसन्धानमा कस्तो राय दिन्छन् र कस्ता प्रश्न गर्छन् भन्ने थाहा हुन्छ। यो एकले अर्कालाई चिन्ने र अध्ययन अनुसन्धानमा सहकार्य गर्ने एकदमै महत्त्वपूर्ण प्लेटफर्म हो।'

यस्ता प्राज्ञिक सम्मेलनले उच्च शिक्षाको स्तर उन्नति हुने विश्वविद्यालयको बुझाइ छ। सोही अनुरूप यस्ता सम्मेलनलाई प्रोत्साहन गरिरहेको र यसले ज्ञानलाई मात्र होइन, असल अभ्यासको प्रचार-प्रसार गर्ने, ज्ञानको विश्लेषण गर्ने र विश्व बजारमा पुर्‍याउन योगदान पुग्ने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पेशल खनालले बताए।

मोफसलमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा दुई दिनसम्म धादिङवेशीमा चलेको सम्मेलनलाई शिक्षा क्षेत्रका अगुवाहरूले उच्च महत्त्वका साथ लिएका छन्। यो सम्मेलनले एकातिर सम्भावनाको खोजी गर्‍यो भने अर्कोतर्फ शैक्षिक गुणस्तर बढाउन विभिन्न देशसँगको सहकार्य र अध्ययन अनुसन्धानको अनुभव साटासाट गर्ने ढोका पनि खोलेको सहभागीहरूले बताए। यस्तो सम्मेलन पुनः आयोजना गरिने पनि क्याम्पसले जनाएको छ।

पोषनाथ

Link copied successfully