भीमफेदी गाउँपालिकाले यसअघि अनौपचारिक क्षेत्रमा काम गर्ने सिकर्मी, डकर्मी, कृषि मजदुर र सवारी साधनमा काम गर्ने २०५ जना श्रमिकलाई कोषमा आवद्ध गराइसकेको छ ।
What you should know
हेटौंडा — मकवानपुरको भीमफेदी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका र अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।
गाउँपालिकाले ४७ महिला स्वास्थ्य स्वयसेविका र ६९ जना अनौपचारिक क्षेत्रका श्रमिक गरी १०६ जनालाई बिहीबारदेखि कोषमा आवद्ध गराएको हो । गाउँपालिकाले यसअघि अनौपचारिक क्षेत्रमा काम गर्ने सिकर्मी, डकर्मी, कृषि मजदुर र सवारी साधनमा काम गर्ने २०५ जना श्रमिकलाई कोषमा आवद्ध गराइसकेको छ ।
चालु आर्थिक वर्षमा स्वयंसेविका र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आवद्ध गराउने कार्यक्रमको शुभारम्भ गर्दै बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पालिकाले स्वास्थ्य क्षेत्रको पिलरको रुपमा पहिचान बनाएका स्वयंसेविका र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आवद्ध गराएर उदाहरणीय कार्य गरेको बताए । यो काम बागमती प्रदेशका १ सय १९ वटै पालिकाले अनुसरण गर्नुपर्ने मुख्यमन्त्री बानियाँले बताए ।
भीमफेदी गाउँपालिकाले ०८०/०८१ देखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई समावेश गर्दै आएको छ । चालु आर्थिक वर्षको लागि योगदानमा आधारित श्रमिक कोष शीर्षकमा ३० लाख बजेट बिनियोजन गरेको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराएपछि उनीहरुमा विश्वास जागेको अध्यक्ष लामाले बताए ।
अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई कोषमा आवद्ध गराउन नेपाल सरकारले औद्योगिक क्षेत्रका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत अर्थात ११९० रुपैयाँ र गााउँपालिकाको तर्फबाट ९ दशमलब ३७ प्रतिशत अर्थात १०१४ रुपैयाँ थप गरी जम्मा २० दशमलब ३७ प्रतिशत अर्थात २२०४ रुपैयाँ मासिक रुपमा गाउँपालिकाद्वारा कोषमा जम्मा गरिने व्यवस्था मिलाएको छ ।
सामाजिक सुरक्षा योजनामा आवद्ध भए पश्चात श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र बृद्ध अवस्था सुरक्षा योजना, श्रमिकका दम्पती र कोषमा आवद्ध भएका परिवारका १८ वर्षमूनिका बालबालिका जस्ता विभिन्न योजनामा सहभागि भई योजनामा उल्लेखित सेवासुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
अनौपचारिक क्षेत्रमा कार्य गर्ने श्रमिकको सामाजिक सुरक्षा योजना संचालन गर्न भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोष बीच २०८० साउन ३० मा सम्झौता भएको थियो । यो पालिकाबाट कोषमा कृषि क्षेत्रका १०७, निर्माणका ७१, यातायात क्षेत्रका ६३, घरेलु तथा अन्य क्षेत्रमा काम गर्ने श्रमिक २३ र महिला स्वयमसेविका ४७ जना गरी ३ सय ११ जना कोषमा आवद्ध भएका छन् ।
